भेट्रान स्पिनर शक्तिद्वारा हङकङ जाने टोलीबाट आफ्नो नाम फिर्ता

भाद्र ९, काठमाडाै । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचन स्वास्थ्यस्थिति ठीक नभएका कारण हङकङ भ्रमणमा नजाने भएका छन् । नेपालले अक्टोबर १३ र १५ मा हङकङसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ ।

‘पायल्स पूरा निको नभएकाले मैले हङकङ जाने टोलीबाट आफ्नो नाम फिर्ता लिएको छु, यसबारे मैले प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमन सिवाकोटीलाई निवेदन पठाएर जानकारी गराइसकेको छु,’ गृहनगर भैरहवाबाट शक्तिले भने ।

३३ वर्षे देव्रेहाते स्पिनर शक्तिले केन्यासँग नेपालले खेलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पछिल्लो दुवै अन्तर्राष्ट्रिय खेल खेलेका थिए । शक्तिले च्याम्पियनसिपका १० मध्ये ९ खेल खेल्दै ५ विकेट लिएका छन् । शुक्रबार सुरु हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा डाकिएका २५ खेलाडीमा शक्ति पनि थिए ।

शक्तिका अनुसार तीन महिना अघि ‘टाइफाइड’ भएको थियो । त्यसबाट मुक्त भएपछि उनलाई पायल्सले च्यापेको थियो । दुई साताअगाडि निको भएर आफैं अभ्यासमा फर्किएको समयमा पुन: पायल्स भएपछि हङकङ जान नसक्ने भएको शक्तिले जनाए । ‘म पूरै खेल्न नसक्ने भएको त होइन तर आगामी महिनामा नेपाली क्रिकेटको महत्त्वपूर्ण समय भएकाले जोखिम लिन नखोजेको हुँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *