स्कुलको तीज कार्यक्रमले संस्कृति जोगायो

किशोर खनाल, भरतपुर । तीज संस्कृति जोगाउँदै विभिन्न स्कुलहरुले तीज विशेष कार्यक्रमहरु गरेका छन् । मंगलबार भरतपुरका विभिन्न निजी तथा सरकारी स्कुलहरु तीज विशेष कार्यक्रम गरी तीज संस्कृति जोगाउने कसरत गरेका छन् ।
भरतपुर नगरभित्रका बेसमा रहेका संस्थागत स्कुलहरुले मंगलबारबाट तीज बिदा गरेका छन् । तीज विशेष कार्यक्रम गरी स्कुल बिदा गरिएको वेसले जनाएको छ ।

रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाभित्र रहेका विभिन्न निजी तथा सरकारी स्कुलहरुले बुधबार स्कुल सञ्चालन गरेका थिए । भरतपुरका विभिन्न स्कुलहरुले मंगलबारै विद्यार्थीहरुबीच तीजका विभिन्न गीतमा नृत्य तथा गायन प्रतियोगिता गरेका थिए भने पूर्वीचितवनका विद्यालयहरुले बुधबार तीज विशेष कार्यक्रम गरे ।

पूर्वीचितवनका विद्यालयहरु बुधबार पनि सञ्चालन भएका पूर्वीचितवनका संस्थागत विद्यालयहरुको संस्था सोसेव्सका अध्यक्ष बालहरि देवकोटाले बताए । उनले भने, ‘भरतपुरका विद्यालयहरुले सट्टा बिदा हालेको हुनाले त्यहाँ मंगलबारबाट बिदा भयो, हाम्रो बुधबार तीज विशेष कार्यक्रम गरी स्कुल बिदा गरिएको हो ।’

चितवन जिल्लाभित्र कति स्कुलहरु बुधबार सञ्चालनमा आए भने, कति स्कुलहरु मंगलबारबाटै बिदा भएको थिए । ‘वर्षमा ५० दिन विद्यालयहरुले बिदा गर्न पाउँछन्, हिउँदे र वर्खे बिदा ४५ दिन र ५ दिन सट्टा बिदा विद्यालयले हाल्न पाउँछ’ जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने, ‘सट्टा बिदा हालेका स्कुलहरु मंगलबारबाट बिदा भए, नहाल्ने स्कुलहरु बुधबार पनि सञ्चालन भएका छन् ।’

भरतपुरका विद्यालयहरुले मंगलबार तीज विशेष कार्यक्रम गरेर मौलिक संस्कृति जोगाए । बेसमा रहेका सम्पूर्ण विद्यालयहरुले तीज विशेष कार्यक्रम गरेका थिए । ‘तीज विशेष कार्यक्रमहरुले तीजको संस्कृति जोगाउँछ, विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन पाउँछन् । संस्कृति जोगाउने कार्यक्रमहरु विद्यालयहरुले गरिरहनुपर्छ’ प्याव्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले भने, ‘यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा फस्टाउँछ ।’

सोसेप्सका अध्यक्ष बालहरि देवकोटाका अनुसार पूर्वीचितवनका विद्यालयहरुले बुधबार आधा क्लास सकेपछि तीज विशेष कार्यक्रम गरेका थिए । ‘विद्यालयहरुले गर्ने यस्ता कार्यक्रमहरुले नेपाली संस्कृति जोगिएको छ’ उनले भने, ‘विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका अलबा प्रतिभा प्रष्फुटनको ज्ञान पनि आवश्यक पर्छ, त्यस्ता कार्यक्रमलाई सामुदायिक तथा संस्थागत स्कुलहरुले प्राथमिकता दिनुपर्छ ।’

तीजमा अहिले आएका भड्किला गीत गाउनभन्दा मौलिक गीतहरु गाउन विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ‘आफ्नै संस्कृति झल्काउने भेषभुषामा, स्थानीय संस्कृतिलाई बढवा दिने खालका गीतमा विद्यार्थीहरुलाई नृत्य गराउन आवश्यक छ’ अध्यक्ष देवकोटाले भने ।

चेपाङ बालबालिकालाई दर
रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई सहयोग जुटाएर दर खुवाइएको छ ।
मासु र अन्य मिष्ठान्न सामग्री सहयोग जुटाएर बुधबार बालबालिकालाई दर खुवाइएको हो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बालबालिकालाई दर खुवाउन ३० किलो मासु, समाजसेवी महेश्वरी खड्का र कालिका एमएमकी स्टेशन म्यानेजर रीना गुरुङले अन्य खाद्य सामग्री खरिदको लागि आर्थिक सहयोग गरेका थिए । खाने कुरा नभएर छटपटाई रहेका केन्द्रमा आश्रित बालबालिकाहरु ९ बजे दाताहरुको सहयोग पाएर दर खाएका थिए । बालबालिकाहरु दर खाएर तथा तीजका गीत गायर रमाइलो समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *