बार्सिलोनाद्वारा नेयमार विरुद्ध उजुरी दर्ता


“
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले सम्झौता उलंघन गरेको भन्दै क्लबका पूर्व खेलाडी नेयमार विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । बार्सिलोनासँगको सम्झौता नविकरण गर्ने क्रममा गरेको बाचा नेयमारले पुरा नगरेको भन्दै बार्सिलोनाले मंगलबार स्पेनिस फुटबल संघमा उजुरी दर्ता गरेको हो ।
‘बार्सिलोनाले फ्रेन्च फुटबल फेडेरेसन र फिफाको समेत ध्यानाकर्षण गराउँदै सम्झौता विपरित गएकोमा नेयमार विरुद्ध स्पेनिस फुटबल संघमा उजुरी दर्ता गराएको छ । बार्सिलोनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ बार्सिलोनाले नेयमारलाई सम्झौता नविकरण गर्दा तिरेको ८.५ मिलियन पाउण्ड क्षतिपूर्ति र १० प्रतिशत ब्याजको माग गरेको छ ।’
अक्टोबरमा गरिएको नयाँ सम्झौता अनुसार नेयमारले तीन वटा शर्त पुरा गर्नु पर्ने उल्लेख थियो । पहिलो शर्त अनुसार नेयमार जुलाई ३१ सम्म नयाँ क्लबमा आबद्ध हुन पाउने थिएनन् । दोस्रो उनले सार्वजनिक रूपमा सम्झौताको पालन गर्ने प्रतिबद्धता गर्नुपर्ने र तेस्रो उनलाई सेप्टेम्बर १ मा बोनस रकम प्रदान गरिने थियो ।
बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसले जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छ ‘शर्त पालन नभएका कारण हामीले नेयमारलाई बोनस दिएनौं र नोटरी राखिएको उक्त रकम क्लबले फिर्ता लिएको छ ।’
अगस्ट ३ मा सार्वजनिक रुपमा पेरिस सेन्ट जर्मेन (पिएसजी) नपुग्दा सम्म नेयमारले आफ्नो सरुवाका बारेमा खुलेर बोलेका थिएनन् । फ्रेन्च क्लब पुगेपछि उनले २ खेलमा ३ गोल गरिसकेका छन् । नेयमारले बार्सिलोना पदाधिकारीको आलोचना गरेका थिए ।
“
