जीर्ण बन्दै जंगे पिलर, सम्बन्धित निकाय माैन

मेनका चौधरी, बर्दिया । सिमानामा रहेका जंगे पिलर कुनै भत्केको कुनै जीर्ण भएको तथा कुनै नदीले बगाएको अवस्थामा छन् । अहिले सिमानामा रहेका स्तम्भ भत्केको, जीर्ण भएको तथा नदीले बगाएको अवस्थामा दुई वटा अझै हराएको जिल्लाको सरकारी तथ्याङ्क छ । पाँच वटा मर्मत हुनुपर्ने देखिन्छ भने ३२ वटामा रङ लगाइएको छैन ।

जंगबहादुर राणाले आफ्नो प्रधानमन्त्रित्व कालमा सीमा निर्धारणपछि गाडेका स्तम्भ पुस्ताै बितिसक्दा पनि मर्मत हुन सकेको छैन । नेपाल र भारतको इस्टइन्डिया कम्पनीले सीमा निर्धारण गरेको ऐतिहासिक तथ्य छ । तत्कालीन ब्रिटिस भारत सरकार र नेपाल सरकारले सन् १८६० नोभेम्बर–९ मा नेपालको पश्चिम तराई सम्बन्धी विषयमा सन्धि गरेपछि सीमा निर्धारण गरिएको थियो ।

दुवै देशको सम्झौतानुसार सन्धिमा गुमाइएको राप्तीदेखि महाकालीसम्मको भूभाग बाँँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई पछि फिर्ता भयो जसलाई ‘नयाँ मुलुक’ पनि भनिन्छ । भारतमा भएको सिपाही विद्रोह दबाउन राणा सरकारले नेपाली सैनिक पठाई सहयोग गरेको थियो ।

बर्दियाको भारततर्फको ८० किलोमिटर क्षेत्रफल रहेको सिमानामा मुख्य सहायक र साना गरी २१२ वटा पिलर रहेको सशस्त्र प्रहरी सुरक्षा कार्यालय बर्दियाले जनाएको छ । बर्दियाको सीमा क्षेत्रमा ३९ मुख्य, ६६ सहायक र एक सय सात वटा पिलर रहेको जनाइएको छ । तर, तिनको संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिएको पाइदैन । नेपाल र भारतबीच रहेका सीमा स्तम्भको मर्मत सम्भार गर्न दुवै देशका तर्फबाट पहल गरिनुपर्ने प्रावधान छ ।

जोडा नम्बरका स्तम्भ भारत र बिजोड नम्बरका स्तम्भ नेपालका तर्फबाट मर्मत गर्ने दुवै देशबीच मौखिक सहमति भए पनि हालसम्म त्यसो गरेको नपाइएको सीमा क्षेत्रका बासिन्दाको भनाइ रहेको छ । दुवै देशका तर्फबाट पहल नभएका कारण सीमा स्तम्भ मर्मत सम्भार हुन नसकेको उनीहरूको भनाइ छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलमा जनशक्ति अभावका कारण सीमा सुरक्षा कार्य समेत गर्न समस्या पर्ने गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले बताए । भारततर्फ भने सिमानामा २३ वटा एसएसपी क्याम्प स्थापना भएको छ ।

मण्डलले भने, “ नेपालतर्फको सिमानामा दुई वटा सशस्त्र पोस्ट स्थापना भएको छ । सीमा सुरक्षाका लागि जिल्लामा रहेको सशस्त्र प्रहरी बलका २३७ जनाको दरबन्दी पर्याप्त छैन ।”

सशस्त्र प्रहरीको दरबन्दी अभावका कारण मानव बेचबिखन एवं अवैध नाकाबाट सामान ओसारपसारको चुनौती खेप्नुपरेको उपरीक्षक मण्डलको भनाइ छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय स्थापना भएको एक दशक भइसक्दा पनि दरबन्दी थप्ने काम नहुँदा सुरक्षामा समस्या परेको मण्डलले बताए । गत साउन २९ गते बाढी आएपछि त्यसको पर्सिपल्ट सीमा क्षेत्रमा आफूले निरीक्षण गरेको र स्तम्भ नभेटेको बताउँदै प्रजिअ विष्णुबहादुर थापाले त्यस सम्बन्धमा आफूले गृह मन्त्रालयलाई जानकारी दिइसकेको जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *