यस्तो छ इम्बोस्ड नम्बरको महत्व, कुन सवारीलाई कस्तो नम्बर ?

काठमाडौं, भदौ ५ । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोस्ड नं प्लेट शुरु गरिएको छ ।

मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने सरकारी भनाई छ ।

यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन यो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ ।

सो कार्य सम्पन्न हुँदा यसको लागत रु ४ करोड ३७ लाख बराबर अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तानी गरिने छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमो ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने हुँदा त्यसको प्रयोगपछि सवारीसाधन नं टाडाबाट समेत देख्न सकिन्छ ।

नं प्लेटमा अन्तर्रा्ष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी हुने दाबी गरिएको छ । प्लेटको कडापन एच४१ र एच ४२ हुने र प्लेटको मोटाई ०.९८ एमएम हुनेछ ।

प्रविधिको मद्दतले सवारीसंग जोडिएको अपराधमा समेत कमी आउने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन् ।

सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यस प्रणालीको शुभारम्भ गर्दै यातायात क्षेत्रमा यो प्रविधिको प्रयोगले नयाँ आयाम थपेकाले अब अन्तर्राष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन तथा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

प्लेटको बायाँ छेउको माथि नेपालको झण्डा र त्यसको तल देश जनाउने गरी एनइपी र लेखिएको छ, त्यसको मुनि सुरक्षात्मक होलोग्राम राखिएको छ ।

प्लेटको माथि अञ्चल तथा तल लट नं जनाउने गरी अंग्रेजी अल्फाबेटमा लेखिएको छ, यो संघीयताको अभ्यास सुरु भएपछि सोहीअनुरुप विकास गर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *