सामाजिक सञ्जालमा यी कुरा सेयर नगर्नुस


“
एजेन्सी । यदि तपाईं कुनै ढुंगामुनि बसेर आफ्नो जीवन गुजारिरहनु भएको छैन भने सोसल मिडियाले आजको दुनियालाई पूर्ण रुपमा बसमा पारिसकेको छ भन्ने पक्कै ज्ञात होला । कतै जानुपूर्व फेसबुकमा ‘चेकिङ इन’ गरेर संसारलाई अवगत गराउने, ट्विटरमा मनको भँडास पोखेर अनि इन्स्टाग्राममा आफूले खाएको बर्गरको फोटो हालेर लाइक्स र कमेन्टको प्रतिक्षामा बस्ने युवा–युवतीहरुको दिनचर्या नै बन्दैछ ।
यद्यपि, अब भने हामीले विचार पु¥याउनुपर्ने भएको छ । आवेशमा आएर धेरै कुराहरु सेयर गर्ने गर्दा हामी जोखिममा पर्न सक्छाै । कसैले हाम्रो सामाजिक सञ्जालका क्रियाकलापलाई पछ्याइरहेको वा नियालिरहेको छ भन्ने पत्तै हुँदैन । त्यसैले, यहाँ ती कुराहरुका सूची प्रस्तुत गरिएको छ, जुन हामीले सामाजिक सञ्जालमा सेयर नगर्दा राम्रो हुन्छ ।
१. जन्ममिति
यदि तपाईंहरु सोच्नुहुन्छ कि आफ्नो पुरा जन्ममिति फेसबुकमा हाल्दा केही समस्या छैन भने तपाईं गलत हुनुहुन्छ । धेरै मानिसहरुले आफ्नो जन्ममितिलाई आफ्नो फेसबुक एकाउन्टको पासवर्डका रुपमा प्रयोग गरेका हुन्छन् । तपाईंले आफ्नो डेट अफ वर्थ अनलाइनमा राखिदिनुभयो भने ह्याकरहरुलाई सजिलो हुनेछ ।
२. आफू रहेको स्थान
कहिलेकाहिँ त आफू रहेको स्थानको सूचना दिनु आवश्यक पनि पर्छ । तर, जहाँ जाँदा पनि यस्तो सूचना दिनु जोखिमपूर्ण हुनेछ । किनकी तपाईंलाई कसैले पिछा गरिरहेको हुनसक्छ । उसलाई कति सजिलो होला यदि तपाईंले चेकिङ इन गर्दै हिँड्नुभयो भने ।
३. पुरा ठेगाना
तपाईंको ठेगाना जस्तो नितान्त निजी कुरालाई किन अनलाइनमा सार्वजनिक गर्नुहुन्छ ? यसले तपाईं र तपाईंको परिवारको सुरक्षामा असर पर्न सक्छ । किनकी कोही पनि मान्छे तपाईंले दिएको ठेगाना पछ्याउँदै ढोका ढक्ढक्याउन आइपुग्ने छ ।
४. फोन नम्बर
सामाजिक सञ्जालहरु, विशेष रुपमा फेसबुकले तपाईंलाई आफ्नो फोन नम्बर सेयर गर्न प्रोत्साहित गर्दछन् । तर, यो पनि ठीक होइन । विशेषतः केटीहरुको हकमा फोन नम्बर सार्वजनिक गर्नु महाभूल नै हुन्छ । उनीहरुलाई अनावश्यक फोन कलले दुख दिन्छ ।
५. घुमघामको योजना
तपाईं टाढाको घुमघाममा निस्किँदै हुनुहुन्छ भने यसको पूर्व जानकारी फेसबुकमा नराख्दा नै राम्रो हुन्छ । तपाईं परिवारसहित बाहिर निस्किनुभएको थाहा पाए भने चोरले तपाईंको घरमा घुसेर लटीपटी पार्न सक्छ । त्यसैले, छुट्टीबाट घर फर्किसकेपछि मात्रै घुमेका ठाउँका फोटोहरु पोष्ट गर्नुस ।
६. रक्सी खाएका तस्वीर
यदि तपाईं कुनै पार्टीमा जानुभएको छ र झ्याप हुने गरी पिउनु भयो भने, तपाईंका साथीले फोटो खिचेर फेसबुकमा हालिदिन सक्छन् । त्यसैले यस्ता साथीहरुबाट बच्नुपर्छ । रक्सी खाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दा समाजमा तपाईंको छवि विग्रिनेछ ।
७. आफ्नो जागिरको विषयमा धेरै सूचना
आफ्नो जागिरको विषयमा सबै विवरणहरु सामाजिक सञ्जालमा राखिरहनु आवश्यक छैन । चाहे जति नै उच्च पदको जागिर किन नहोस् ।
“
