अब बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने

साउन ३२, काठमाडौं । अब तपाईंले बैंक तथा वित्तीय संस्थामा खोलेको खाता बन्द गर्दा पनि पैसा तिर्नुपर्ने भएको छ । यस अघिको व्यवस्थामा बैंक खाता बन्द गर्दा शुल्क तिर्नुपर्दैन थियो । तर, बैंकहरुले विभिन्न बहानामा शुल्क लिँदै आएका थिए ।

मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै बैंक खाता खोलेको ६ महिना भित्र खाता बन्द गर्दा शुल्क तिर्नुपर्ने नीतिगत व्यवस्था गरेको हो । राष्ट्र बैंकले गरेको यो व्यवस्था भोलिदेखि नै लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले शुल्क नलिएका कारण ग्राहकले खाता खोल्दै, बन्द गर्दै गर्ने गरेका कारण आफूहरुको लागत बढेको गुनासो गर्दै आएका थिए । उनीहरुले बैंक खाता खोल्दा र बन्द गर्दा शुल्क लिन पाउनुपर्ने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए । बैंकहरुको मागको सुनुवाई गर्दै राष्ट बैंकले बैंक खाता खोलेको ६ महिना भित्र खाता बन्द गर्दा बैंकले शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो ।

के गर्दा पैसा लाग्छ ? के गर्दा लाग्दैन ?

इजाजत प्राप्त संस्थाले निक्षेप खाता खोल्दा, चेक जारी गर्दा, खाता सञ्चालन गर्दा, खाता खोलेको ६ महिना पछि खाता बन्द गर्दा, बैंक स्टेटमेन्ट लिँदा वा प्राकृतिक व्यक्तिको हकमा २ लाख रुपैयाँसम्मको एबीबीएस सेवा प्रदान गर्दा ग्राहकबाट कुनैपनि किसिमको सेवा शुल्क लिन पाइने छैन,’ एकीकृत निर्देशिकामा भनिएको छ, ‘तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा त्यस्तो शुल्क लिन बाधा पुगेको मानिने छैन ।,’

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लिएका नीतिहरु एकीकृत निर्देशिका मार्फत् कार्यान्वयनमा लाने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *