महान् धावक उसेन बोल्ट युनाइटेडबाट फुटबल खेल्दै

“
एजेन्सी– लामो समय देखि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा ब्यक्त गर्दै आएका कीर्तिमानी धावक उसेन बोल्टले ह्यामस्ट्रिंङ इन्जुरीबाट ठिक भएको खण्डमा सेप्टेम्बर २ मा हुने च्यारिटी खेलमा म्यानचेस्टर युनाइटेडबाट पहिलोपल्ट खेल्ने भएका छन् ।
अघिल्लो हप्ता लन्डनमा भएको विश्व च्याम्पियनसिप आफ्नो अन्तिम दौड दौडिने क्रममा ह्यामस्ट्रिंङ्गमा आएको चोट मात्र बोल्टको युनाइटेडबाट खेल्ने सपनामा बाधक बन्न सक्छ । संघर्षरत बोल्ट फिट भएको खण्डमा म्यानचेस्टर युनाइटेड लेजेन्ड्सको टोलिबाट बार्सिलोनाबिरुद्ध मैदानमा उत्रिने छन् ।
लामो समय देखि युनाइटेडलाई पछ्याइरहेका बोल्टले उक्त खेलमा आफ्नो खेल्ने इच्छा ब्यक्त गर्दै भने, ”म्यानचेस्टर युनाइटेडबाट खेल्ने मेरो बर्षौदेखीको सपना हो, यो इन्जुरीबाट मुक्त भए, सपना पुरा गर्न आतुर छु ।”
शताब्दीकै उत्कृष्ट धावक तथा विश्वकै छिटो मानवको कीर्तिमानी बनाएका बोल्टले ओलम्पिक खेलकुदमा ८ पटक स्वर्ण पदक जितेका छन् । त्यस्तै, उनको नाममा १०० मिटरको दौडमा किर्तिमान रहेको छ ।
“








