पाल्पाको ऐतिहासिक भगवती जात्रा निकालिँदै

पाल्पा, ३१ साउन । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा (भगवतीको रथयात्रा) आज पाल्पामा निकालिँदैछ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मंगलबार पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकालिन लागेको हो ।

दिउँसो १२ः३० देखि १२ः४५ को शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो । नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा (रथ यात्रा) निकालिनेछ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।

भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमबाट पूजा गरी बलि दिइने अध्यक्ष उदयले बताउनुभयो ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ ।

घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए ।


दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ । अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।

विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा) लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिनेछ ।

रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले भगवतीको प्रतिमूर्ति र गोरखदल गणका कर्णेल जइन्द्र केसीले कर्णेल उजिरसिंह थापाले प्रयोग गर्ने तरबार यथास्थानमा राखेर जयजयकार गरी जात्राको विसर्जन गरिने बताउनुभयो ।

आजको दिन यस भगवतीको मन्दिरमा पूजाआजाका लागि बिहान ४ः३० देखि साँझ ९ः०० बजेसम्म सर्वसाधारणका लागि व्यवस्था मिलाइएको छ । यसवर्षको भगवती जात्रा करिब ७० हजारको हाराहारीमा दर्शकले अवलोकन गर्ने समितिले जनाएको छ ।

विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ । घर बाहिर रहेका पाल्पालीहरु पनि भगवती जात्राका दिन अनिवार्यरुपमा तानसेन आउने गर्छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *