नेयमार यस वर्षको ‘ब्यालोन डी’ आरको बलियो दावेदार


“
एजेन्सी । ब्राजिलियन राष्ट्रिय टोलीका प्रशिक्षक टिटेले फरवार्ड नेयमार यस वर्षको ‘ब्यालोन डी’ आर उपाधिको बलियो दावेदार रहेको बताएका छन् । बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन पुगेका नेयमारले आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने पनि उनले बताए ।
पछिल्लो समयमा ब्यालोन डी’ आरमा एकक्षत्र राज गरिरहेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै नेयमार पनि उपाधिको दावेदार रहेको टिटेले बताए । ‘यस पटक उपाधिका लागि मेस्सी र रोनाल्डोसँग नेयमार पनि रहनेछन् । नेयमार यी दुई खेलाडी भन्दा फरक युगका खेलाडी हुन् र उनले यी दुवैको स्थानमा पुग्ने क्षमता राख्दछन् ।’
प्रशिक्षक टिटेले पिएसजी पुगेपछि नेयमारको प्रदर्शन अझै राम्रो हुने विश्वास दिलाए । ‘ नेयमार पेरिसमा गएर अझै खुलेर खेल्नेछन् । उनले मेस्सीसँग खेल्नुपर्ने छैन र त्यसले उनको आफ्नो प्रदर्शनमा सहयोग पुग्नेछ । उनले नयाँ चुनौतीको सामना गर्न नयाँ क्लब रोजेका हुन् र उनको क्षमताले उनलाई सफलता दिलाउनेछ ।’
टिटेका अनुसार बार्सिलोना र पिएसजीको खोल्ने शैली केही मेल खाने भएकाले नेयमारलाई केही सहज हुने अभिव्यक्ति दिए । ‘पिएसजी र बार्सिलोना दुवैले ४-३-३ को पद्धतिमै खेल्दै आएका छन् । आक्रमणमा पनि एक्ला फरवार्डलाई विङ्गरहरुले साथ दिने हो । नेयमारले यहाँ थप स्वतन्त्र भएर खेल्न सक्छन् । उनले आफूसँगै साथमा खेल्ने खेलाडीहरुको सुधारमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेछन् ।
“
