शौचालयदेखि आइसियूसम्म नभएको भन्दै उपकूलपतिलाई रयाख्र्याख्ती


साउन, २७, धरान । शिक्षा स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा पूर्वाञ्चलकै प्रतिष्ठित स्वास्थ्य संस्था दिनप्रतिदिन धरासायी बन्दै गएपछि धरानबासी चिन्तित भएका छन् । प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठानको स्वास्थ्य र शिक्षा सेवाको गुणस्तर सुधार्ने भन्दा पनि भ्रष्टाचारमा लिप्त भएपछि धरानबासीहरु चिन्तित बनेका हुन् ।

बिहीबार धरानका एक समूहले प्रतिष्ठानका पदाधिकारीको कार्य शैली ठिक नभएको, भ्रष्टाचारमा लिप्त भएर प्रतिष्ठान डुवाउन खोजेको भन्दै प्रतिष्ठानका उपकूलपतिलाई ज्ञापन पत्र बुझाएका छन् । ‘एक्सन धरान’ ले प्रतिष्ठानको गुणस्तर सुधार गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दबाब दिएको हो । एक्सन धरानले प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई १३ बुँदे मागपत्र राख्दै प्रतिष्ठानको शौचालयदेखि आइसियूसम्म व्यवस्थित नहुँदा सर्वसाधारण बिरामीले सास्ती खेपेको भन्दै तत्काल सेवा सुधार्न दबाब दिएको हो । उनीहरुले वीपी प्रतिष्ठान बचाऔं भन्ने विभिन्न ब्यानर तथा प्लेकार्ड बोकेर धरान उपमहानगरपालिकामा ¥याली समेत प्रर्दशन गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. रौनियारलाई ज्ञापनपत्र बुझाउँदै एक्सन धरानका संयोजक संचित शर्माले प्रतिष्ठान धरानबासी र सम्पूर्ण पूर्वाञ्चलबासीकै गहना भएकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउँदै पदाधिकारीहरू अझ जिम्मेवार बन्नुपर्ने बताए । ‘वीपी प्रतिष्ठान धरानबासीको गहना हो, यसले समग्र पूर्वाञ्चलकै जनतालाई उच्चस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने हो, तर, केही दिनयता प्रतिष्ठान अस्तब्यस्त भएको पाएका छौँ, तत्काल गुणस्तर सुधारियोस्’ संयोजक शर्माले भने ।

उनले प्रतिष्ठानको ट्वाइलेटदेखि आइसियु, इण्डोस्कोपी, रेडियोलोजीसम्म विग्रँदा प्रतिष्ठानका पदाधिकारी मौन बस्नु भनेको जिम्मेवारीता र जवाफदेहिता नभएको जिकिर गरे । ‘हामीले हेरिरहेका छौँ प्रतिष्ठानमा शौचालयदेखि आइसियूसम्म काम नलाग्ने भएका छन्, यस्तो बेलामा जिम्मेवार पदाधिकारीहरू चुप लागेर बस्नुको अर्थ के हो ? कतै प्रतिष्ठानलाई डुवाउने षड्यन्त्र त हैन ?’ उनले प्रति प्रश्न गरे ।
संयोजक शर्माले ज्ञापन पत्र बुझाउँदै आफूहरू कुनै व्यक्तिगत स्वार्थ बोकेर नआएको भन्दै सकरात्मक कुराहरूमा सदैव पदाधिकारी, चिकित्सक र कर्मचारीहरूलाई साथ दिने तर, गलत क्रियाकलापमा खबरदारीपनि गर्ने बताए ।

एक्सन धरानले प्रतिष्ठान भित्र हुने विभिन्न भ्रष्टाचार र कमिसनका विषयमा आफूहरू केन्द्रसम्म गएर छानबिनका लागि दबाब दिनका लागि तयारी गरिरहेको बताए । मकालु खबरसँग टेलिफोन सम्पर्कमा बोल्दै संयोजक शर्माले प्रतिष्ठानले भर्खरै खरिद गर्न लागेको एमआरआई उपकरणमा ६ करोड बढी चलखेल भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकायले समेत छानबिन गरिरहेकोले उक्त छानबिन निश्पक्ष रूपमा हुनुपर्ने बताए । उनले अख्तियारले प्रतिष्ठानबाट हचुवाका तालमा मात्रै फायल नलगेको भन्दै आफूहरू अख्तियारले गर्ने अनुसन्धान निष्पक्ष हुनेमा विश्वस्त रहेको बताए । ‘अख्तियारले हचुवाका भरमा छापा मार्दैन, हामी उसले गर्ने अनुसन्धानमा विश्वस्त छौँ, तर, चाडोभन्दा चाडो अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न अनुरोध गर्छौँ’ उनले भने । एक्सन धरानले प्रतिष्ठानको ट्वाइलेटको समस्या ७ दिन भित्र समाधान गर्नको लागि पनि प्रतिष्ठानलाई दबाब दिएको छ ।

उनले केही दिन भित्रै काठमाडौँ आएर प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतलाई समेत यो विषयमा ध्यानाकर्षण गराउने बताए । ‘प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन, एमसिएच विल्डिङ र एमडी/एमएस परीक्षाका विषयमा स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराएर छानबिन गर्न दबाब दिने योजना छ’ उनले भने ।

शर्माले एक्सन धरान वीपी प्रतिष्ठानको विषयमा मात्रै सरोकार नराखी आम जनता र धरानबासीका हक हितका लागि काम गर्ने बताए । उनले सामाजिक जागरण ल्याएर समाज रूपान्तरणमा पनि एक्सन धरान लागि पर्ने दाबी गरे । ‘विगतमा धेरैले व्यक्तिगत स्वार्थ लिएर वार्गेनिङ गर्न समूह बनाए, हामी पनि स्वार्थ लिएर नै आएका हौँ, हाम्रो स्वार्थ भनेको समाजको लागि हुन्छ । हाम्रो वार्गेनिङ समाजका लागि हुन्छ’ उनले भने ।

ज्ञापन पत्र बुझ्दै प्रतिष्ठानका उपकुलपति डा. रौनियारले मागलाई गम्भिरतापूर्वक लिएको बताएका थिए ।
एक साता अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन खरिदमा ६ करोड बढी भ्रष्टाचारको आशंकामा प्रतिष्ठानबाट एमआरआई बोलपत्र आह्वान, स्पेशिफीकेशन र टेण्डरका कागजात जफथ गरेर केन्द्रमा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *