बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग

साउन २६, मकालु खबर । बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठक आजबाट काठमाडौँमा सुरु हुँदैछ । काठमाडौको सोल्टी होटेलमा आज र भोलि हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ ।

मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा तयारीको लागि वैदेशिक मामिला तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८ औँ बैठक (एसओएम) अहिले जारी छ । बैठकको अध्यक्षता परराष्ट्र सचिव शङ्कर दास बैरागीले गर्नु भएको छ । बैठकमा बिम्स्टेकको १४ औँ बैठकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ विषयमा छलफल गरी एजेन्डा तयार गर्ने छ । जारी बैठकमा भारत, भुटान, बङ्गलादेश, थाइल्याण्ड, म्यान्मार र श्रीलंकाका वैदेशिक मामिला हेर्ने उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठकले मुख्यगरी यातायात सञ्जाल,जलवायु परिवर्तन र पारस्परिक सहयोगमा ठोस निर्णय गर्ने सम्भावना छ । मन्त्रिस्तरिय बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बङ्गलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भुटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी आज अपरान्ह काठमाडौँ आइपुग्ने कार्यक्रम छ । थाइल्याण्ड र म्यान्मारबाट भने उपविदेश मन्त्रीको सहभागिता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ देखि नेपालले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *