प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय निर्माणको प्रकृया शुरु


“
कैलाली, साउन २६ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय स्थापनाका लागि आवश्यक प्रारम्भीक प्रकृया अगाडि बढेको छ । स्थापनाको घोषणा भएको करिब ६ वर्षपछि चिकित्सालय भवन निर्माणका लागि डेण्डर भएसंगै प्रकृया अगाडि बढेको हो ।
राजपुरमा सुदूरपश्चिम क्षेत्रीय आयुर्वेदिक चिकित्सालय स्थापना गर्ने निर्णय सरकारले २०६८ सालमा गरेको थियो । तर, सामुदायिक वनको जग्गा हस्तान्तरणमा भएको ढिलाईले यसअघि काम अगाडि बढ्न सकेको थिएन । स्वास्थ्य मन्त्रालय आयुर्वेद विभाग अन्तरगत रहने चिकित्सिालयको भवन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीमार्फत निर्माण हुनेछ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले अहिले भवन निर्माणका लागि परेका टेण्डरको मूल्यांकन गरिरहेको बताएको छ । ढिलै भए पनि पूर्वाधार निर्माणको प्रकृया शुरु भएको भन्दै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
चिकित्सालय व्यवस्थापन समितिका संयोजकसमेत रहेको स्थानीय भोजराम रानाले ढिलै भए पनि निर्माण प्रकृया अगाडि बढ्नु खुशीको कुरा भएको बताउनुभयो । अहिले टेण्डर प्रकृयामा रहेको भवन दुई वर्षभित्रै भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताइएको छ । आयुर्वेद चिकित्सालयको स्थापनाले यस क्षेत्रका बासिन्दाले आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी सेवा पाउने छन् ।
“
