वीपीको एमआरआई खरिद प्रकरण संसद्मा

” 

खगेन्द्र अधिकारी, साउन २५ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिन खरिद प्रक्रियामा ६ करोड बढी भ्रष्टाचार भएको विषय संसद्मा प्रवेश गरेको छ । व्यवस्थापिका संसद्को आज (बुधवार) बसेको बैठकमा माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एमआरआई मेसिन खरिदका विषयमा भएको चलखेलमा संसदबाट छानबिन समिति बनाएर दोषी माथि कडा कारबाहीको माग गरेका छन् ।

सांसद मानपुर चौधरी: बुधबार संसदमा बोल्दै

‘विगत दुई सातादेखि यो विषय विभिन्न सञ्चार माध्यममा आएको छ, संसदले विशेष समिति गठन गरेर छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस्’ सांसद मानपुर चौधरी 

आज बसेको संसद्को शून्य समयमा बोल्दै सांसद चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एमआरआई मेसिन खरिद प्रक्रियामा प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले राज्यको करोडौं रुपैंया चलखेल गरेको भन्दै तत्काल संसदले पनि छानबिन गर्नुपर्ने माग राखे । ‘विगत दुई सातादेखि यो विषय विभिन्न सञ्चार माध्यममा आएको छ, संसदले विशेष समिति गठन गरेर छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् ।’ उनले भने । उनले प्रतिष्ठानमा क्यान्सर सेन्टर स्थापनाका लागि विभिन्न सभासद् सहित स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई समेत भनेर बजेट विनियोजन गरे पनि प्रतिष्ठानका उपकूलपतिले व्यापारीसँग सेटिङ गरी बजेट रकमान्तण गरेर एमआरआइ खरिद गर्न खोजेको बताए ।

पदाधिकारी शक्ति केन्द्र धाउँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले प्रतिष्ठानबाट नियन्त्रणमा लिएका कागजपत्रहरु अनुसन्धानका लागि काठमाडौँ पठाएपछि प्रतिष्ठानका पदाधिकारीहरू फायल बन्द गर्न विभिन्न शक्ति केन्द्रमा धाएका छन् ।
गत साता आयोगको क्षेत्रीय कार्यालयले प्रतिष्ठानबाट नियन्त्रणमा लिएको एमआरआई खरिदका कागजातहरू प्रारम्भिक अनुसन्धान गरेर केन्द्रीय कार्यालयमा पठाएपछि प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार अख्तियारसँग सेटिङ गर्न हतारहतार काठमाडौँ आएका हुन् ।

डा. रौनियारले आफ्ना दाइ गौरीशंकर रौनियार मार्फत प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई नै प्रभावमा पारेर प्रतिष्ठानका फायलहरु बन्द गर्न दबाब दिएका छन् ।
आयोग स्रोतका अनुसार उपकूलपति डा. रौनियारले गएको हप्ता काठमाडौँ लाजिम्पाट स्थित होटेल मनासलुमा केही व्यापारी र राजनीतिक दलका नेताहरू र आयोगका केही आयुक्तलाई समेत भेटघाट गरेका छन् । ‘प्रतिष्ठानका फायलहरु तत्काल अघि नबढाउनु भन्ने दबाब आएको छ ।’ अख्तियारका एक अधिकारीले नाम बताउने सर्तमा भने ।

आयोगले अनुसन्धानका लागि फायलहरु तानेपछि बढीमा एक वर्षसम्म लम्ब्याउन सक्ने छ । सोही नजिरलाई हेर्दै रौनियारले एमआरआई खरिद प्रक्रियाका फायलहरु बन्द गर्न दबाब दिएका हुन् । अख्तियारलाई चुप लगाउन डा. रौनियारले काँग्रेस नेता महेश आचार्यलाई समेत प्रयोग गरेको बुझिएको छ । स्रोतका अनुसार डा. रौनियारले आफ्ना दाइ (जो नेपाली काँग्रेसमा आबद्ध छन्) उनको राजनीतिक आड लिएर स्वास्थ्यमन्त्री र प्रधानमन्त्री मार्फत अख्तियार प्रमुख आयुक्त दीप बस्न्यातलाई प्रभावमा पार्न खोजिरहेछन् । एक वर्ष अघि प्रतिष्ठानले एमआरआई १.५ टेस्ला १२ करोडमा खरिद गर्न खोज्दा असहमति जनाएका थिए । अहिले सोही मेसिन सोही कम्पनीबाट १८ करोडमा खरिद गर्नका लागि डा. रौनियारले सहमति हुनुमा ठुलो आर्थिक चलखेल रहेको बुझिएको छ ।

भट्टराई काठमाडौँ तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका प्रमुख प्रेम प्रसाद भट्टराई आयोगको केन्द्रीय कार्यालयमा तानिएका छन् । वीपी प्रतिष्ठानबाट गत साता फायल कब्जामा लिएर अनुसन्धान थालेसँगै भट्टराईलाई आयोगको केन्द्रमा बोलाईएको हो ।
मकालु खबरसँगको फोन सम्पर्कमा भट्टराईले आफू आयोगको केन्द्रीय कार्यालयमा आउनु २ दिन अघि नै वीपी प्रतिष्ठानका फायलहरु केन्द्रमा पठाइसकेको बताए । ‘म काठमाडौँ आइसके, वीपीका फायलहरु पनि केन्द्रमा अनुसन्धानका लागि पठाईसकिएको छ ।’ उनले भने ।

रौनियारको अघोषित सल्लाहकारमा सिनियर क्लर्क

वीपी प्रतिष्ठानका उपकूलपति डा. रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण तदर्थ समितिका अध्यक्ष राजन कोइरालालाई काठमाडौँ पठाएका छन् । एमआरआई काण्ड र क्यान्सर सेन्टरका विषयमा अख्तियारमा परेको उजुरीलाई सेटल गर्न र विभिन्न राजनीतिक दलका नेताहरूलाई सेटिङ गराउन डा. रौनियारले कोइरालालाई अघोषित रूपमा सल्लाहकार नै बनाएका छन् । ‘राजन कोइराला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको खास मान्छे भएकोले उपकूलपति ज्यूले सहयोग माग्नु भएको हो खासै हैन ।’ नाम उल्लेख नगर्ने सर्तमा प्रतिष्ठानका स्टोर शाखाका एक कर्मचारीले बताए ।

प्रतिष्ठानमा कोइरालाको पद सिनियर क्लर्क हो । सामान्यतय प्रतिष्ठानको नियमावलीले अधिकृत तहका कर्मचारीलाई मात्र काजमा जाँदा प्लेन चढ्ने सुविधा छ । तर, कोइरालाका लागि यो नियमावली लागू भएको छैन । उनलाई काजमा पठाउँदा प्रतिष्ठानले नै प्लेन टिकट काटेर पठाउने गरेको छ । उनलाई काजमा पठाउने विषयमा स्टोर शाखाका प्रमुख दीपक शाक्यलाई थाहै हुँदैन । उनी डाइरेक्ट उपकूलपतिको कार्यालयबाट काजमा हिँड्ने गरेको प्रतिष्ठान स्रोतको दाबी छ । यस विषयमा प्रतिष्ठानका उपकूलपति कार्यालयका सचिवालय प्रमुख तथा कार्यवाहक रजिष्ट्रार अमित श्रीवास्तवसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
कोइराला नेशनल लाइफ इन्सुरेन्स कम्पनीको पेशागत बिमा अभिकर्ता सङ्घको केन्द्रीय अध्यक्ष समेत रहेर काम गर्दछन् । उनी नेपाली काँग्रेसमा समेत आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *