प्रदेश नम्बर २ का सरकारी अस्पतालमा अनुगमन

साउन २४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकार मातहतका अस्पतालहरुको अनुगमनलाई तीव्रता दिएको छ ।स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको पहलमा उपत्यकाका तीन जिल्लापछि तराईका जिल्लामा रहेका सरकारी अस्पतालको अनुगमन सुरु गरेको हो । मन्त्रालयको टोलीले सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सप्तरी, सुनसरी लगायतका जिल्लामा रहेका सरकारी अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा अनुगमन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ डा. पुष्पा चौधरी नेतृत्वमा डा. दीपेन्द्ररमण सिंह, नरेशप्रताप केसी, तरुण पौडेलसहितको अनुगमन टोलीले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थाको अनुगमन गरेको हो । स्वास्थ्य मन्त्री पोखरेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउन अनुगमन थालिएको बताएका छन् । ‘अनुगमन टोलीले स्वास्थ्य संस्थाहरुमा पुगेर सकारात्मक वा नकारात्मक जे भए पनि रिपोर्ट ल्याउँछ,’ मन्त्री पोखरेलले भने, ‘हामी त्यसका आधारमा स्वास्थ्य संस्था सुधारका योजना बनाउन सक्छौं । र, अनुगमनलाई निरन्तरता दिन्छौँ ।’

मन्त्री पोखरेलले सरकारी अस्पतालहरुमा तत्काल गर्न सकिने सुधारहरु, केही समयपछि गर्न सकिने र दीर्घकालमा गरिने सुधारहरुको ठोस योजना ल्याएर अघि बढ्दा सरकारी अस्पतालहरुको गुणस्तरमा सुधार ल्याउन सकिने बताएका छन् ।अनुगमनबाट फर्किएका डा. दिपेन्द्ररमण सिंहका अनुसार कुनै अस्पतालमा दरबन्दी अनुसार जनशक्ति छैन तर भौतिक संरचना बलियो छ, कतै कही जनशक्तिको अभाव छैन तर भौतिक संरचना र उपकरणको अभाव छ ।

‘कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाको अवस्था दयनीय छ,’ डा. नरेशप्रताप केसीले भने, ‘त्यस्ता अस्पतालमा सामान्य परिवर्तन गर्न सके पनि सेवाग्राहीले धेरै सुविधा पाएको महसुस गर्न सक्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *