धेरै ब्याजको लोभमा सेनाको २३ करोड जोखिममा

काठमाडौं, साउन  २३ । नेपाली सेनाले विभिन्न वित्तीय संस्था (फाइनान्स)मा राखेको कल्याणकारी कोषको करिब २३ करोड रकम जोखिममा छ । सेनाले निकट व्यक्तिका साथै धेरै ब्याजको लोभमा धराशयी बन्दै गएका फाइनान्समा निक्षेप गरेको कोषको रकममध्ये २२ करोड ९७ लाख ६७ हजार रुपैयाँ जोखिममा रहेको हो ।

राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित क्यापिटल मर्चेन्ट फाइनान्स, सम्झना फाइनान्स, नेसनल फाइनान्सलगायत वित्तीय पुँजी संरचना कमजोर रहेका संस्थामा निक्षेप गर्दा ८२ करोड रकम जोखिममा परेको थियो । जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी योजना निर्देशनालयका प्रमुखसमेत रहेका सहायक रथी प्रदीपकुमार अधिकारीले जोखिममा परेको रकम असुल गर्न वित्तीय संस्थाको अचल सम्पत्ति रोक्का गरिएको जानकारी दिए । ‘निक्षेप रकम असुल गर्न अचल सम्पत्ति रोक्का गरेका छौं । अब बिस्तारै जोखिममा रहेको सबै रकम असुल गर्छौं’, सहायक रथी अधिकारीले भने ।

विगतमा निक्षेप गरेको साँवा रकम नै जोखिममा परेपछि सेनाले अहिले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तीय संस्थामा निक्षेप गरेको छैन । सेनाले हाल बैंकको पुँजी पर्याप्तता, कर्जा तथा लगानीको गुणस्तर स्थिति, व्यवस्थापनलगायत पक्ष हेरेर अधिकतम निक्षेपको सीमा तोकी निक्षेप उपलब्ध गराउने व्यवस्था गरेको छ । कोषमा हाल ३४ अर्ब ५६ करोड १५ लाख रकम छ । गत वर्ष कोषमा ३३ अर्ब ६ करोड १० लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब ५० करोड ५ लाखले वृद्धि भएको हो । सेनाले कोषको रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंकमा निक्षेप गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *