मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

उत्तर कोरिया भ्रमणमा अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं, साउन १९ ।   आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू  हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ ।

उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने घोषणा गरिएको छ । यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले बताए ।

उत्तर कोरिया प्रतिबन्धको घोषणा पहिलो पटक गत महिनामा नै भएको थियो । उत्तर कोरियाको भ्रंमणको क्रममा जेल परेका अमेरिकी विद्यार्थीको मृत्यु्पछि यो प्रतिबन्धको घोषणा गरिएको थियो । तर यसको एकिन मितिको भने तय भएको थिएन ।

अमेरिकी विद्यार्थी ओट्टो वार्मबिएर प्योङयाङ भ्रमणका क्रममा जेल परेको त्यसै क्रममा उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भई उनी कोमामा गएका थिए । कोमामा नै रहेको अवस्था उनको मृत्यु भएको थियो ।

युनिभरसिर्टी अफ भर्जिनियाका २२ वर्षीय ती विद्यार्थी वार्मबिएरलाई उत्तर कोरियाको विरुद्ध प्रचार गरेको आरोपमा उत्तर कोरियास्थित एक होटेलबाट पक्राउ गरी एक वर्षभन्दा बढी थुनामा राखिएको थियो ।

उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेर कोमामा नै उनलाई घर फर्काइएको र तर उनलाई बचाउन भने सकिएन ।

वार्मबिएरको मृत्युपछि यस्ता दुखान्त घटना र निर्दोष  नागरिकको हत्या रोक्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।

वार्मबिएरको मृत्यु नै तनाव सिर्जना भएको अवस्थामा उत्तर कोरियाले हालै दुई पटकसम्म गरेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकाको रहेको छ ।

केही दिनअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जोबीच पनि यसै विषयमा फोनवार्ता भएको थियो ।

उनको कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउँदै लगेको छ भन्ने हो, ह्वाइट हाउसले जनाएको छ ।

उनीहरू सो कुराकानीपछि उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो ।

प्रतिकृयाहरु
Loading...