सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
“
काठमाडौं, साउन १८ । व्यवस्थापिका–संसद् बैठकमा बिभिन्न क्षेत्रका सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा बिशेष तथा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् ।
विशेष समयमा नेपाली काँग्रेसका धनराज गुरुङले नक्कली भ्याट बिलका बारेमा उच्चस्तरीय छानबिन नभएकामा चिन्ता व्यक्त गर्दै आयल निगमको जग्गा खरिदसम्बन्धी छानबिन गर्न सरकार किन चुप लागेको भनेर प्रश्न गर्नुभएको थियो । नेकपा एमालेका सांसद गंगालाल तुलाधरले शिक्षा ऐन पारित भएको १४ महिना बितिसक्दा पनि शिक्षा नियमावली नभएकोमा सरकारको ध्यानाकर्षण गराउँदै नियमावली नआउँदा शिक्षा क्षेत्र तहसनहस हुँदै गएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका रामनारायण विडारीले नेशनल ट्रेडिङको आर्थिक अवस्था दिन प्रतिदिन धराशयी बन्दै गएकामा चिन्ता व्यक्त गर्दै ट्रेडिङको जग्गा नेपाल आयल निगमले खरिद गर्दा नियम पालन नगरेको बताउनुभयो । राष्ट्रिय जनता पार्टीका वृजेशकुमार गुप्ताले सरकारले कपिलवस्तुको तिलौटाकोटका जग्गा अधिग्रहण गर्दा पक्षपात गरेको भन्दै किसानलाई उचित मूल्य दिएर मात्र अधिग्रहण कार्य अगाडि बढाउन माग गर्नुभयो ।
संघीय समाजवादी फोरमका शिवजी यादवले तराई मधेशका अधिकांश जिल्लामा समयमा वर्षात् नहुँदा रोपाइँ नभएको उल्लेख गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत दिन माग गर्नुभयो । नेकपा मालेका अइन्द्रसुन्दर नेम्बाङले स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद मीना पुनले चिकित्सा शिक्षा सुधारका माग राख्दै निरन्तर अनशन बस्दै आउनुभएका डा. गोविन्द केसीको माग पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
“