पोखरामा सिजी मोटर्सको नयाँ मल्टी-ब्रान्ड आउटलेट सञ्चालनमा

काठमाडौँ। नेपालका लागि एआइओएन (AION) विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सिजी मोटर्स प्रालिले पोखरामा नयाँ मल्टी-ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्कीले गत शुक्रवार आयोजित एक समारोहबिच उक्त आउटलेटको उद्घाटन गरेका हुन्। नयाँ आउटलेटमार्फत ग्राहकले विश्व प्रसिद्ध तीन विद्युतीय सवारी (उभी) ब्रान्डका नवीनतम मोडल एउटै स्थानबाट अवलोकन तथा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार काठमाडौँ उपत्यकाबाहिर विद्युतीय सवारीको पहुँच विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो आउटलेटले स्वच्छ, आधुनिक र दिगो यातायात प्रवर्द्धन गर्ने सिजी मोटर्सको अभियानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा वेस्टर्न अटो मोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले काठमाडौँ उपत्यकाबाहिर विद्युतीय सवारीको पहुँच विस्तार गर्दै नेपालको उभी उद्योगको विकासमा योगदान पुर्‍याएको भन्दै सिजी मोटर्सको प्रशंसा गरे।

ग्राहकमैत्री अवधारणामा सञ्चालनमा आएको नयाँ आउटलेटमा सवारीसाधनको प्रदर्शन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) उपलब्ध हुने कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले गुणस्तरीय सेवा प्रवाह र ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणमा सिजी मोटर्सले देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए।

सिजी मोटर्सले हाल देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत आफ्ना ग्राहकलाई सहज, भरपर्दो र सुलभ चार्जिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक तथा समारोहका अध्यक्ष कञ्चन सिलवालले देशव्यापी चार्जिङ पूर्वाधारले सिजी मोटर्सलाई नेपालकै भरपर्दो विद्युतीय सवारी प्रदायकमध्ये एकका रूपमा स्थापित गरेको बताए।

करिब १५० जना अतिथि सहभागी उद्घाटन समारोहमा नयाँ ग्राहकलाई सवारीसाधनको साँचोसमेत हस्तान्तरण गरिएको थियो। कम्पनीले काठमाडौँ उपत्यकाबाहिर आफ्नो डिलर नेटवर्क विस्तार गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =