अमेरिकी सेनाद्वारा इरानमाथि नयाँ चरणको आक्रमण

एजेन्सी । अमेरिकी सेनाले शनिवार साँझ इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक विज्ञप्ति जारी गर्दै पूर्वीय समय अनुसार शनिबार साँझ ६ बजे उक्त आक्रमण गरिएको पुष्टि गरेको हो ।
सेन्ट्रल कमाण्डका अनुसार, हर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि हुन सक्ने इरानी चुनौतीलाई निस्तेज पार्न र इरानको सैन्य क्षमतालाई कमजोर तुल्याउन यो कारबाही गरिएको हो ।
साथै, शुक्रवार राति जोर्डनमा अमेरिकी सैन्य टोलीमाथि आक्रमण गर्ने ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) लाई दण्डित गर्नु पनि यसको उद्देश्य रहेको कमाण्डले स्पष्ट पारेको छ ।
यसअघि शनिवार बिहान सेन्ट्रल कमाण्डले दिएको जानकारी अनुसार, शुक्रवार जोर्डनस्थित एक सैन्य आधार शिविरमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध लक्षित कारबाही सुरु गरेयता हालसम्म ज्यान गुमाउने अमेरिकी सैन्य कर्मचारीको कुल सङ्ख्या १६ पुगेको छ ।








