भारतमा मनसुनी बाढी र पहिरोबाट १९ जनाको मृत्यु

श्रीनगर । मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको अधिकारी तथा स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

बाढी र पहिरोबाट म्यान्माको सीमासँग जोडिएको उत्तर–पूर्वी राज्य नागाल्यान्डमा आठ जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मु–कश्मीरमा ११ जनाको ज्यान गएको छ ।

नागाल्यान्डको मोन जिल्लाका जिल्ला प्रशासक वेन्येइ कोन्याकले एएफपीसँग आठ जनामध्ये चार जनाको शव निकालिएको र उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनका अनुसार बाढी र पहिरोका कारण कम्तीमा १५ जना घाइते भएका छन् ।

जम्मु–कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मु क्षेत्रको राजौरीमा आएको आकस्मिक बाढीप्रति दुःख व्यक्त गरेका छन् ।

उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा बाढीले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको, बस रोक्ने स्थानहरू प्रभावित भएको र धेरै मानिसको जनजीवन अस्तव्यस्त बनेको उल्लेख गरिएको छ ।

भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार जम्मुमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता छन् ।

सेनाका जवान र राज्यका आपत्कालीन टोलीले जम्मुको राजौरी जिल्लाबाट पाँच बालबालिकासहित ११ जनाको उद्धार गरेका छन् ।

भारत मौसम विभागले जम्मु–कश्मीरमा आगामी दुई दिन अत्यधिक भारी वर्षा हुने चेतावनी दिएको छ ।

मौसम प्रतिकूल बनेपछि अधिकारीहरूले कश्मीर क्षेत्रमा सञ्चालन हुँदै आएको वार्षिक हिन्दू अमरनाथ यात्रा अस्थायी रूपमा स्थगित गरेका छन् ।

स्थानीय प्रशासनले तीर्थयात्रीहरूको सुरक्षा र कल्याणका लागि यात्रा स्थगित गरिएको जनाएको छ । मौसम सुधार भएर बाटो सुरक्षित भएको घोषणा नभएसम्म यात्रा पुनः सुरु नहुने बताइएको छ ।

गत वर्ष एक महिनासम्म चलेको अमरनाथ यात्रामा लाखौँ हिन्दू तीर्थयात्री सहभागी भएका थिए ।

यसैगरी जम्मुस्थित वैष्णो देवी मन्दिरको धार्मिक यात्रा पनि स्थगित गरिएको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष लाखौँ श्रद्धालु पुग्ने गर्छन् ।

भारतमा मनसुनका समयमा बाढी र पहिरोजस्ता विपद् नियमित रूपमा हुने गरेका छन् । लामो गर्मीपछि आउने मनसुनले देशका धेरै क्षेत्रमा पानीको अभाव र खडेरीको अवस्था अन्त्य गर्ने भए पनि यसले बाढी र पहिरोको जोखिमसमेत बढाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =