युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

एजेन्सी । अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएयता शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठको प्रयोग गरी निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ ।

गाजा सिटीमा स्थापना गरिएको ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले पुनः प्रयोग गरिएका काठका सामग्रीबाट कक्षाकोठा र डेस्क–बेन्च निर्माण गरी विद्यार्थीहरूलाई औपचारिक सिकाइ वातावरणमा फर्काएको हो ।

गाजामा जारी युद्धका कारण अधिकांश विद्यालय भवनहरू ध्वस्त भएका छन् वा विस्थापित परिवारका लागि आश्रय स्थलमा परिणत भएका छन् । यस्तो अवस्थामा कतिपय स्थानमा पालभित्र अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिए पनि त्यहाँ डेस्क, बेन्च र आवश्यक शैक्षिक सामग्रीको अभाव रहँदै आएको थियो । हाल यो नयाँ विद्यालयमा करिब ८५० जना विद्यार्थीहरू अध्ययनरत छन् ।

लामो समयपछि कक्षाकोठामा फर्किएकी १२ वर्षीया छात्रा सारा अल–हसानीले भनिन्, ‘डेस्कमा बसेर पढ्न पाउँदा युद्धअघिको विद्यालयको याद आएको छ । विगतका महिनाहरूमा हामीले पालमुनि बसेर पढ्नुपरेको थियो, तर अहिले ह्वाइटबोर्ड र डेस्क भएको वास्तविक कक्षाकोठामा हुँदा सामान्य जीवनमा फर्किएको आभास भइरहेको छ ।’

अर्की छात्रा सिला अल–हदादले पनि पालको तुलनामा काठको कोठामा गर्मी र हावाहुरीबाट जोगिन सहज भएको र पढाइमा ध्यान केन्द्रित गर्न सजिलो भएको बताइन् ।
वेफाक ह्युमानिटेरियन फाउन्डेसन नामक गैरसरकारी संस्थाले निजी चन्दाको सहयोगमा यो विद्यालय निर्माण गरेको हो । निर्माण सामग्रीको चरम अभावका बिच काठको संरचना प्रयोग गरिएको यस विद्यालयले धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्न तीन सिफ्टमा कक्षाहरू सञ्चालन गरिरहेको छ ।

संस्थाका मिडिया निर्देशक मुस्तफा अल–मलाहीकाअनुसार, उपयुक्त काठको अभाव र निरन्तरको विद्युत् कटौतीका कारण विद्यालय निर्माणमा करिब दुई महिना लागेको थियो । आर्थिक स्रोत जुटेमा गाजाकै अल–नासर क्षेत्रमा यस्तै अर्को विद्यालय निर्माण गर्ने लक्ष्य संस्थाले राखेको छ । शिक्षिका नार्मिन खामिस मोहम्मदले विद्यालयको सुरुवातलाई बालबालिकाको मानसिक स्थिरताका लागि महत्त्वपूर्ण कदम मान्छिन् ।

गाजास्थित सञ्चार कार्यालयको तथ्यांकअनुसार युद्ध सुरु भएयता गाजाका सबै विद्यालयहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट ६ लाख २० हजारभन्दा बढी विद्यार्थीको नियमित शिक्षा अवरुद्ध भएको छ भने २० हजारभन्दा बढी विद्यार्थीले ज्यान गुमाइसकेका छन् । प्रतिकूल परिस्थितिका बाबजुद ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले गाजाका हजारौँ बालबालिकाका लागि शिक्षाको नयाँ किरण प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =