विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन् ।
स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ ।
न्यु जर्सीमा हुने उक्त फाइनल ट्रम्पले प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उहाँको भूमिकाले यसअघि नै विवादसमेत निम्त्याएको छ ।
अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएपछि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो ।
विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिताको सङ्ज्ञा दिएका छन् । उनका अनुसार यस प्रतियोगिताले संयुक्त राज्य अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता थप बढाएको छ ।
ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनल खेलमा उपस्थित रहने जनाइएको छ ।
कूटनीतिक भेटघाटको अवसर
विश्वकपको फाइनल खेल खेलकुदसँगै कूटनीतिक भेटघाटको अवसर पनि बन्ने अपेक्षा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि फाइनल हेर्न उपस्थित हुनेछन् । ट्रम्पले हालै स्पेनले नेटोअन्तर्गतको रक्षा खर्चसम्बन्धी दायित्व पूरा नगरेको भन्दै आलोचना गरेका थिए ।
प्रतियोगिताका सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ । अमेरिका, क्यानडा र मेक्सिकोबीच व्यापार, आप्रवासन र सुरक्षालगायतका विषयमा पछिल्लो समय मतभेद देखिँदै आएको छ ।
ट्रम्पको उपस्थितिलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रङ्गशाला वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उनी आउने समय रङ्गशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ ।
इन्फान्टिनोसँगको निकट सम्बन्ध
ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको सम्बन्धलाई थप प्रगाढ बनाएका छन् । उनले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा उल्लेख गर्दै आएका छन् ।
यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले चर्चा पाएको थियो ।
पछि उनले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरेका थिए । तर फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो ।








