‘साइक्लोस्पोरियासिस’ संक्रमणः क्यालिफोर्नियाको टेलर फार्म्सद्वारा बजारबाट लेटुस फिर्ता

एजेन्सी । क्यालिफोर्नियास्थित कृषि उत्पादन वितरक कम्पनी ‘टेलर फाम्र्स’ ले मध्य मेक्सिकोबाट आयात गरिएको आइसबर्ग लेटुस बजारबाट स्वेच्छिक रूपमा फिर्ता लिने घोषणा गरेको छ ।
अमेरिकामा घातक ‘साइक्लोस्पोरियासिस’ नामक परजीवी संक्रमण फैलिएपछि स्वास्थ्य अधिकारीहरूले यस कम्पनीलाई संक्रमणको सम्भावित स्रोतका रूपमा पहिचान गरेका थिए । कम्पनीले एक विज्ञप्ति जारी गर्दै बिरामी परेका व्यक्ति र परिवारप्रति गहिरो चासो व्यक्त गरेको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बिहीवार उपलब्ध गराएको प्रारम्भिक जानकारीका आधारमा यो कदम चालिएको कम्पनीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एफडीएको अनुसन्धानले अमेरिकाको कूल आइसबर्ग लेटुस आपूर्तिको एक प्रतिशतभन्दा कम हिस्सा ओगट्ने एउटा स्वतन्त्र कृषि फर्मलाई संक्रमणको सम्भावित स्रोत देखाएको छ । सावधानीका लागि हामीले त्यस क्षेत्रबाट आउने सबै लेटुसको आपूर्ति अनिश्चितकालका लागि रोकेका छौँ ।’
टेलर फाम्र्सले आफ्नै ब्रान्डका सलाद र किटहरू भने यस संक्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । क्यालिफोर्नियाको सालिनासमा रहेको टेलर फाम्र्सले अमेरिकाका प्रमुख रेस्टुरेन्ट शृङ्खलाहरूमा तरकारी आपूर्ति गर्दै आएको छ ।
एफडीएको अनुसन्धान अनुसार पाँच वटा राज्यका ‘ट्याको बेल’ आउटलेटहरूमा टेलर फाम्र्सले आपूर्ति गरेको लेटुस खाएका व्यक्तिहरूमा यो संक्रमण देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मे १ देखि हालसम्म ३४ राज्यहरूमा १,६४५ जनामा प्रयोगशाला प्रमाणित संक्रमण पुष्टि भइसकेको छ ।
जसमध्ये १४१ जना अस्पताल भर्ना भएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन । सीडीसीले ५,१०० भन्दा बढी अन्य रिपोर्टहरू विश्लेषणको क्रममा रहेकाले संक्रमितको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
साइक्लोस्पोरियासिस दूषित खाना वा पानीको माध्यमबाट शरीरमा प्रवेश गर्ने ‘साइक्लोस्पोरा’ नामक परजीवीका कारण लाग्ने रोग हो। यसले मुख्यतया आन्द्रामा समस्या उत्पन्न गराउँछ ।








