सरकारलाई मनिष झाको प्रश्न: यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर आवागमन अवरुद्ध गर्ने कार्यको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो गतिविधि गलत भएको उल्लेख गर्दै यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनले लेखेका छन् ।

झाले नागरिकको चिन्ता सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप आतङ्कित बनाउने काम गर्न नहुने बताएका छन् ।

‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैं थप आतङ्कित बनाउने हैन । यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले प्रश्न गरेका छन् ।

उनले यस्ता गतिविधि ‘स्तरहीन र गलत प्रयोग’ भएको टिप्पणी गरेका छन् । ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =