‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’

काठमाडौं । नेकपा एमालेका सांसद डा. अर्जुन कार्कीले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा कानून तथा संविधानको व्याख्या फरक ढंगले गरिँदा मुलुकमा कानुनी संकट उत्पन्न भएको बताए ।
उनले प्रश्न उठाउनेहरूमाथि सरकारले निषेधको राजनीति गरेको आरोप लगाए ।
सांसद कार्कीले नेपाल पक्ष राष्ट्र भएका संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी अभिसन्धि र संविधानले प्रत्याभूत गरेको वाक तथा प्रकाशन स्वतन्त्रताको उल्लंघन भइरहेको बताए ।
लोकतान्त्रिक मुलुकमा नागरिकमाथि दिनदहाडै हुने कुटपिट र हिंसा स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘जो प्रश्न उठाएरै सत्ता र सदनमा आए, आज उनीहरू नै प्रश्न गर्नेहरूको मुख थुन्न लागिपरेका छन् । यो निषेधको अभियान सुकुम्बासी बस्तीदेखि मिडिया हाउस हुँदै प्रतिपक्षी दलको नेताको घरसम्म पुग्नु गम्भीर चिन्ताको विषय हो,’ उनले भने ।
सांसद कार्कीले संखुवासभाका शिक्षकहरूले भोगिरहेको समस्याबारे पनि सदनको ध्यानाकर्षण गराए ।
दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूले समान भूगोल र समान सेवाका आधारमा पाउनुपर्ने सुविधामा विभेद भइरहेको भन्दै उनले विभेदकारी नियम तत्काल हटाउन माग गरे ।
यसैगरी, संखुवासभामा रहेको ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’को अवस्थाप्रति पनि सांसद कार्कीले चिन्ता व्यक्त गरे ।
उनले सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गराएर संस्था नेतृत्वविहीन बनाएको आरोप लगाए ।
पदाधिकारी अभावका कारण स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको र कर्मचारीहरू अन्योलमा परेको उनले बताए ।
सांसद कार्कीले विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गरी नियमित पठनपाठन सञ्चालन गर्न सरकारसँग माग गरे ।








