विचाराधीन मुद्दामा तथ्यबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुन्छ: खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्दै प्रमुख सचेतक ओलीले प्राप्त तथ्य र व्यक्तिगत अध्ययनका क्रममा भेटिएका विवरणहरूबीच ठूलो भिन्नता देखिएको बताइन् ।

उनले अपूर्ण तथा तथ्यहीन कागजातका आधारमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले छलफल गर्नु वा धारणा सार्वजनिक गर्नु उचित नहुने बताइन् ।

यस्ता संवेदनशील विषयमा स्वविवेक प्रयोग गर्नुपर्नेमा जोड दिँदै ओलीले सञ्चारमाध्यममा आउने ‘बाइट’ ले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरिन् ।

‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा हामीजस्तो जिम्मेवारीमा बसेका व्यक्तिहरूले मिडिया ट्रायल भइरहेका विषयमा गम्भीर अध्ययन नगरी धारणा राख्नु उचित हुँदैन,’ उनले भनिन् ।

प्रमुख सचेतक ओलीले विचाराधीन मुद्दासम्बन्धी भइरहेको वर्तमान प्रक्रियालाई तत्काल रोक्न समितिका सभापतिको ध्यानाकर्षण गराइन् ।

उजुरीका आधारमा मात्र छलफल गर्नुभन्दा आधिकारिक दस्ताबेजहरूको अध्ययन गरी अदालतको फैसला आएपछि मात्रै यस विषयमा थप धारणा सार्वजनिक गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =