तीजमा आउँदै ‘बेहुली’, पारस-दिव्याको रोमान्टिक पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।

सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ । तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ । रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन् ।

हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ । श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन् ।

पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए । दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो । मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो । चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय रहनेछ ।

‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यस पटक एउटा निकै परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडी बनेर आउँदै छन् । युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको यो फ्रेस अनस्क्रिन केमेस्ट्री कस्तो जम्ला भन्ने कौतूहल दर्शकवृत्तमा पहिल्यैदेखि छ । निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ ।

‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो । माधवको कथामा सशानले सिनेमाको निर्देशन कमान्ड सम्हालेका छन् । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायकको भूमिका निर्वाह गरेका छन् ।

पर्दामा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरजस्ता कलाकारले साथ दिएका छन् । प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहनेछ ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् । डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =