एजेन्सी । सिरियामा बसर अल–असादको शासन अन्त्य भएको झन्डै दुई वर्ष बितिसक्दा पनि टर्कीमा आश्रय लिइरहेका लाखौँ सिरियालीहरू स्वदेश फर्किने वा टर्कीमै आफ्नो जीवन अघि बढाउने भन्ने विषयमा अन्योलमा देखिएका छन् ।
टर्कीको अध्यागमन अधिकारीहरूकाअनुसार डिसेम्बर २०२४ मा असाद सरकारको पतन भएयता करिव ७ लाख सिरियालीहरू स्वेच्छाले घर फर्किएका छन् । यद्यपि, अझै पनि २२ लाख सिरियालीहरू टर्कीमै बसोवास गरिरहेका छन् ।
यस तथ्याङ्कले ठूलो सङ्ख्यामा रहेका शरणार्थीहरू अझै पनि कठिन निर्णयको दोधारमा रहेको स्पष्ट पार्छ । धेरै शरणार्थीहरूका लागि स्वदेश फर्किने निर्णय अब सुरक्षा अवस्थामा मात्र सिमित छैन ।
लामो समयको प्रवासपछि उनीहरूले टर्कीमा स्थापित गरेको रोजगारी, छोराछोरीको शिक्षा, पारिवारिक सम्बन्ध र जीवनस्तरका कारण पनि फिर्ती प्रक्रिया जटिल बनेको छ ।
सिरियालीहरूको टर्कीको समाज र श्रम बजारमा बढ्दो घुलमिललाई आत्मसात् गर्दै टर्कीको गृह मन्त्रालयले गत हप्ता एक महत्वपूर्ण निर्णय गरेको छ । नयाँ व्यवस्थाअनुसार अस्थायी संरक्षण अन्तर्गत रहेका विदेशीहरूलाई मानक कार्य अनुमतिको आवश्यकताबाट छुट दिइएको छ, जसले उनीहरूलाई औपचारिक रोजगारीमा पहुँच सहज बनाउनेछ ।
अङ्कारास्थित शरणार्थी तथा आप्रवासन अनुसन्धान केन्द्रका प्रमुख मेटिन कोराबातिरकाअनुसार यो कानुनी सहजताले शरणार्थी र टर्की दुवैलाई फाइदा पुग्नेछ । यसले अनौपचारिक रोजगारी घटाउन र श्रमको स्तर सुधार्न मद्दत गर्ने उनको विश्लेषण छ । यद्यपि, कोराबातिरले स्वदेश फिर्तीको मुख्य आधार सिरियाको आन्तरिक अवस्था नै रहने बताएका छन् ।
लाखौँ सिरियालीहरू फर्कन थालेसँगै टर्कीका गाजियान्टेप र किलिसजस्ता सीमावर्ती प्रान्तहरूको स्थानीय अर्थतन्त्रमा प्रभाव देखिन थालेको छ । यी क्षेत्रमा सिरियालीहरू श्रम शक्ति र उपभोक्ता बजार दुवैको अनिवार्य हिस्सा बनेका थिए ।
विज्ञहरूकाअनुसार १३ वर्षभन्दा लामो विस्थापनपछि पुनः जीवन स्थापित गर्नु रातारात सम्भव छैन । त्यसैले, धेरै सिरियालीहरूले अहिले नै स्वदेश फर्किने हतार नगरी वस्तुस्थितिको सूक्ष्म मूल्याङ्कन गरिरहेका छन् ।