क्यानडामाथि भारी मोरक्को, फ्रान्सद्वारा पाराग्वे स्तब्ध: क्वार्टरफाइनलमा आमनेसामने हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) का खेलमा प्रभावशाली जित निकाल्दै मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

अब यी दुई टोली सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुने भएका छन्। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो। मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे।

खेलको ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको पासमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। त्यसपछि उनले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थपेपछि मोरक्को ३–० को सहज विजेता बन्यो। विश्वकपमा सातौं पटक सहभागिता जनाइरहेको मोरक्को इतिहासमा दोस्रोपटक क्वार्टरफाइनल पुगेको हो। यसअघि उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो।

यसका साथै, दुईपटक विश्वकप क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने कीर्तिमान पनि मोरक्कोले बनाएको छ। पराजित क्यानडा भने प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना भने अझै कायम छ।

यता, अमेरिकाकै फिलाडेल्फिया स्टेडियममा भएको अर्को अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो। फ्रान्सका कप्तान किलियन  एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। डिजायर डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि पाएको अवसरलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए।

जारी विश्वकपमा एम्बाप्पेको यो सातौं गोल हो। उनी लियोनी मेस्सी सँगै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन्। अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच रोमाञ्चक भिडन्त हुनेछ।

यी दुई टोली सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पनि आमनेसामने भएका थिए, जहाँ मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनल पुगेको थियो। यसपटक मोरक्कोसामु चार वर्षअघिको हारको बदला लिने अवसर रहनेछ भने फ्रान्स लगातार अर्को सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =