अष्ट्रेलियामा विद्युतीय सवारीको बिक्रीमा नयाँ कीर्तिमान

एजेन्सी । अष्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधन (ईभी) को विक्रीले जुन महिनामा लगातार पाँचौँ पटक नयाँ कीर्तिमान कायम गरेको छ ।

अष्ट्रेलियाको सवारी साधन उद्योगको छाता संगठन ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसिएआई) का अनुसार अष्ट्रेलियाका लागि चीन अब सवारी साधनको प्रमुख स्रोत मुलुकका रूपमा स्थापित भएको छ ।

एफसिएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार जुन महिनामा अष्ट्रेलियाभर कुल १,४०,०५८ नयाँ सवारी साधन विक्री भएका छन् । जसमध्ये विद्युतीय सवारीको हिस्सा २३.३ प्रतिशत रहेको छ । यसअघि मे महिनामा २० प्रतिशत ईभी बिक्री भएकोमा जुनमा त्यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो ।

विद्युतीय सवारीको बजार हिस्सामा देखिएको यो वृद्धि गत फेब्रुअरीदेखि लगातार जारी छ । फेब्रुअरीमा कुल विक्रीको ११.८ प्रतिशत रहेको ईभीको हिस्सा पाँच महिनाको अवधिमा झन्डै दोब्बर पुगेको छ ।

तथ्याङ्कअनुसार अष्ट्रेलियामा नयाँ सवारी साधन आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। सन् १९९८ देखि जापान अष्ट्रेलियाको प्रमुख सवारी स्रोत रहँदै आएकोमा गत फेब्रुअरीदेखि चीनले सो स्थान ओगटेको हो।

जुन महिनामा चीनबाट ४६,५९२ वटा सवारी साधन आयात भएका छन्, जुन फेब्रुअरीमा २२,३६२ मात्र थियो । तुलनात्मक रूपमा जुन महिनामा जापानबाट २७,०९८ वटा सवारी साधन मात्र आयात भएका छन् ।

उत्पादक कम्पनीहरूको सन्दर्भमा टोयोटा १९,१२४ सवारी साधन विक्री गर्दै अझै पनि पहिलो स्थानमा छ । यद्यपि, चिनियाँ कम्पनी बीवाईडी १८,८८१ वटा गाडी बिक्री गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

सन् २०२६ को पहिलो ६ महिनाको तथ्याङ्क हेर्दा बीवाईडीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२४ प्रतिशतले बढेर ५२,३३५ पुगेको छ । अर्कोतर्फ, सोही अवधिमा टोयोटाको कुल विक्री १,२०,९७८ बाट घटेर ९५,१४१ मा सीमित भएको छ ।

एफसिएआईका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले जुन महिनाको विक्री तथ्याङ्कले अष्ट्रेलियाली बजारमा ठूलो परिवर्तनको संकेत गरेको बताएका छन् । मध्यपूर्वको द्वन्द्व र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताहरूले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय सवारी साधनप्रति विशेष चासो देखाएको वेबरको विश्लेषण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =