दक्षिण अफ्रिकामा हिंसा बढेपछि युगाण्डाद्वारा आफ्ना नागरिकको उद्धार

एजेन्सी । दक्षिण अफ्रिकामा जारी विदेशी नागरिक लक्षित हिंसा र आप्रवासी विरोधी प्रदर्शनका बीच युगाण्डा सरकारले आफ्ना नागरिकहरूको पहिलो समूहलाई स्वदेश फर्काएको छ ।

जोहानेसबर्गस्थित ओ.आर. टाम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत २७३ जना युगान्डाली नागरिक इन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार दक्षिण अफ्रिकामा बढ्दै गएको आप्रवासी विरोधी हिंसा र असुरक्षाका बीच राष्ट्रपति योवेरी मुसेभेनीले आफ्ना नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न दिएको निर्देशनअनुरूप यो उद्धार कार्य गरिएको हो ।

युगाण्डाको परराष्ट्र मन्त्रालयअन्तर्गत डायस्पोरा विभागका प्रमुख डिक्सन ओग्वाङले आफ्ना नागरिक जहाँ भएपनि उनीहरूको सुरक्षा र कल्याण सरकारको प्रमुख चासोको विषय रहेको बताए । उनले दक्षिण अफ्रिकामा रहेका कतिपय नागरिकले स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि राष्ट्रपतिले उनीहरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जानकारी दिए ।

सरकारी सञ्चार निकाय ‘युगाण्डा मिडिया सेन्टर’ काअनुसार दक्षिण अफ्रिकाका लागि युगान्डाका राजदूत पल अमोरुले बाँकी रहेका अन्य नागरिकहरूका लागिसमेत थप उद्धार उडानहरूको व्यवस्था भइरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =