इबोला नियन्त्रणका लागि चिनियाँ विशेषज्ञको दोस्रो टोली कंगो पुग्यो

एजेन्सी । इबोला भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने उद्देश्यका साथ चिनियाँ विशेषज्ञहरूको दोस्रो टोली प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) पुगेको छ ।
महामारी नियन्त्रणका लागि खटिएका विशेषज्ञहरूको यो टोली शुक्रबार कंगोको राजधानी किनशासा आइपुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लुकु मालेयो मारियसले विमानस्थलमा चिनियाँ टोलीलाई स्वागत गरेका थिए ।
सो अवसरमा उनले चीन र कंगोबीचको सम्बन्ध आधा शताब्दीभन्दा पुरानो रहेको चर्चा गर्दै विशेषगरी स्वास्थ्य क्षेत्रको सहकार्य अत्यन्तै फलदायी रहेको बताए । उच्चस्तरीय स्वास्थ्य सहकार्यले कंगोको सार्वजनिक स्वास्थ्य क्षमता सुदृढ गर्न प्रभावकारी भूमिका खेलेको मारियसको भनाइ थियो ।
कंगोमा हाल इबोलाको प्रकोप जटिल अवस्थामा रहेको उल्लेख गर्दै मारियसले यस महामारी विरुद्धको प्रतिकार्यमा चिनियाँ टोलीबाट थप सशक्त सहयोगको अपेक्षा गरिएको बताए ।
चिनियाँ विशेषज्ञ टोलीका प्रमुख गु झिकियाङले आफ्नो टोलीले यथाशीघ्र काम शुरु गर्ने र कंगोका स्वास्थ्य अधिकारी एवं सम्बन्धित निकायहरूसँग निकट रहेर समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । टोलीले महामारीसम्बन्धी अनुसन्धान, प्रयोगशाला परीक्षण, बिरामीको उपचार, संक्रमण रोकथाम तथा नियन्त्रण र जनशक्ति प्रशिक्षणका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
यस सहकार्यमार्फत महामारी रोकथाम र नियन्त्रणमा चिनियाँ अनुभव र दक्षता साटासाट गरिने झिकियाङले जानकारी दिए । यसैबीच, कंगोका राष्ट्रपति फेलिक्स सुसेकेडीले इबोला विरुद्धको अभियानमा सहयोग पुर्याउने चीन लगायतका मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूप्रति आभार प्रकट गरेका छन् ।
महामारीले कुनै भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै राष्ट्रपति सुसेकेडीले विश्वभरका नागरिकको प्रभावकारी सुरक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।








