सुस्ताको माटो बोकेर राजधानीमा सुस्तावासी (तस्बिरहरू)

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट भइरहेको भनिएको ज्यादतीको विरोध गर्दै सुस्तावासीले आफ्नो जन्मभूमिको माटो बोकेर राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता क्षेत्रबाट आएका स्थानीयले भारतीय अतिक्रमण रोक्न नेपाल सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा उनीहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले सुस्ताको माटो बोकेर आफ्नो भूमि, राष्ट्रिय स्वाभिमान र राज्यको ध्यानाकर्षण गराउन प्रतीकात्मक दवाब दिएका छन् ।
सुस्ता नेपाल–भारतबीचको विवादित सीमा क्षेत्र हो । नेपालले यस क्षेत्रलाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाअन्तर्गतको आफ्नो भूभाग मान्दै आएको छ भने भारतले पनि दाबी गर्दै आएको छ ।
गण्डक (नारायणी) नदीको धार समयक्रममा परिवर्तन हुँदै जाँदा सीमा विवाद थप जटिल बन्दै गएको मानिन्छ ।
हेर्नुहोस् तस्बिरहरू:










