हवाई उद्योगमा तत्काल ठूला सुधार सम्भव छैन: मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल ठूला लगानी वा संरचनात्मक परिवर्तन गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले हवाई क्षेत्र अत्यन्त जटिल भएकाले सरकारले आफैंले लगानी गरेर तत्काल अघि बढ्न कठिन रहेको स्पष्ट पारे ।

उनका अनुसार नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि हवाई उद्योग पर्यटन तथा समग्र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भए पनि वर्तमान अवस्थामा अपेक्षाअनुसारको सुधार देखिएको छैन ।

‘हामीले जति पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ, त्यही अनुसार नीति र योजना बनाइरहेका छौँ । तर हवाई क्षेत्रको अवस्था हेर्दा अपेक्षित सुधार देखिँदैन,’ उनले भने, ‘सरकार आफैंले तत्काल तातेताते गरेर अघि बढ्ने अवस्था पनि छैन ।’

मन्त्री पौडेलले हवाई उद्योग सुदृढ नभई पर्यटन क्षेत्र र मुलुकको समग्र उन्नति सम्भव नहुने भन्दै सरोकारवाला निकायसँग विस्तृत बहस र सहकार्यमार्फत सुधार अघि बढाइने बताए ।

उनले हाल नेपाल युरोपेली संघ (ईयू) को हवाई प्रतिबन्ध सूचीमा रहेको विषय उल्लेख गर्दै उक्त प्रतिबन्ध हटाउन नीतिगत, कानुनी तथा सुरक्षा मापदण्ड सुधार आवश्यक रहेको बताए ।

‘ईयूको प्रतिबन्धबाट बाहिर निस्कन हामीले धेरै नीतिगत र कानुनी सुधार गर्नुपर्नेछ, साथै सुरक्षा मापदण्ड पनि पूरा गर्नुपर्नेछ,’ उनले भने ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आर्थिक समस्या र स्रोत अभावका कारण हवाई उड्डयन क्षेत्रमा सुरक्षासम्बन्धी चुनौती देखिएको बताए ।

उनका अनुसार निगमले सीमित स्रोत साधनमै अधिकतम प्रयोग गर्दै कर्मचारीको मनोबल उच्च राखेर सुरक्षा र नियमनकारी निकायका निर्देशनअनुसार काम गर्नुपर्ने अवस्था छ ।

उनले निजी क्षेत्रको तुलनामा सार्वजनिक संस्थानमा निर्णय प्रक्रिया ढिलो हुने भएकाले स्रोतसाधनको उचित व्यवस्थापन र पुँजी लगानी बिना हवाई सुरक्षा बलियो बनाउन कठिन हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =