एक्स्ट्रिम फुटबल फिभर: नेपालमा पहिलो पटक स्ट्रिट फुटबल विश्वकप छनोट हुँदै

काठमाडौँ। नेपालमा स्ट्रिट फुटबलको विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल २०२६’ आयोजना हुने भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको आयोजना तथा व्यवस्थापन एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालिले संयुक्त रूपमा गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विभिन्न जिल्ला तथा समुदायमा रहेका फुटबल प्रतिभाको खोजी गर्नु, युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्नु तथा उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको ढोका खोल्नु हो। प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा आयोजना हुने आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ। विजेता टोलीका खेलाडीले एलपीएस म्यानेजमेन्ट प्रालिसँग तीन महिनाको व्यावसायिक खेलाडी सम्झौता पाउनेछन् भने विश्वकप तयारीका लागि बन्द प्रशिक्षणमा समेत सहभागी गराइनेछ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक ‘३ विरुद्ध ३ स्ट्रिट फुटबल वरीयता’ तयार गरिने आयोजकले जनाएको छ। भविष्यमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट प्रक्रियामा यही वरीयतालाई आधार बनाइने बताइएको छ। आयोजकका अनुसार विश्व फुटबलका शक्तिशाली राष्ट्र ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र स्पेनमा स्ट्रिट फुटबलको बलियो संस्कृति रहेको छ। फुटबलका महान् खेलाडी डिएगो म्याराडोना, रोनाल्डिन्हो, जिनेदिन जिदान, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि सडक र गल्लीमा फुटबल खेल्दै आफ्नो यात्रा सुरु गरेका थिए।
त्यस्तै, सन गार्नियर र सुफियान तुनाजीजस्ता विश्व प्रसिद्ध फ्रिस्टाइल फुटबल खेलाडी पनि स्ट्रिट फुटबलबाटै स्थापित भएका हुन्। प्रतियोगितामा देशभरबाट खुला तथा निःशुल्क दर्तामार्फत ९२ टोली सहभागी हुनेछन्। ती टोलीलाई २३ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगिता अन्तर्राष्ट्रिय स्ट्रिट फुटबल सङ्घ (आईएसएफए) को २०२५–२६ को नियमअनुसार सञ्चालन हुनेछ। प्रत्येक खेल कुनै विश्रामबिना लगातार १० मिनेटको हुनेछ भने साइज–४ को फुटसल बल प्रयोग गरिनेछ। समूह चरणका खेल जुलाई १ देखि ८ सम्म, राउन्ड अफ ६४ जुलाई १० र ११, राउन्ड अफ ३२ जुलाई १३, राउन्ड अफ १६ जुलाई १५ तथा क्वार्टर फाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनलका खेल जुलाई १९ मा हुनेछन्। सबै खेल अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म फ्लड लाइट, साङ्गीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक वातावरणबिच सञ्चालन गरिने आयोजकले जनाएको छ। समूह चरणका खेल काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा साँघुरा बस्ती क्षेत्र कुमा ननी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल–सङ्कटामा सञ्चालन गरिनेछ।
स्थानीय संस्कृति र स्ट्रिट फुटबलको मौलिक वातावरणलाई जोड्ने उद्देश्यले यी स्थान छनोट गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताका सबै खेल ‘लेट्स प्ले स्पोर्ट्स’ युट्युब च्यानल र ‘नेपाल एफसी’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। साथै खेलको नतिजा, तथ्याङ्क र प्रत्यक्ष अद्यावधिक आधिकारिक वेबसाइट ‘च्यालेन्ज प्लेस’ मार्फत उपलब्ध गराइने जनाइएको छ।

सन् २०२३ मा स्थापना भएको अन्तर्राष्ट्रिय स्ट्रिट फुटबल सङ्घ (आईएसएफए) विश्वभरका स्ट्रिट फुटबल खेलाडी र समुदायलाई एउटै मञ्चमा जोड्ने संस्था हो। यसले आयोजना गर्ने ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकपमा ३२ राष्ट्रका टोलीले प्रतिस्पर्धा गर्ने गर्दछन्। प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ भने फुटबल मिडिया पार्टनर टेकर्स ट्रायो, समुदाय साझेदार सरस्वती यूथ क्लब रहेका छन्।
आयोजकले नेपालको खेलकुद इतिहासमा नयाँ अध्यायको रूपमा रहेको यस प्रतियोगिताको सफलताका लागि सञ्चारमाध्यम र खेल प्रेमीको साथ र सहयोगको अपेक्षा गरेको छ।









