मण्डला थिएटरमा नाटक ‘इजलास जारी छ’ मञ्चन हुँदै

काठमाडौँ। मण्डला थिएटर, थापा गाउँमा असार १९ गतेदेखि नाटक ‘इजलास जारी छ’ मञ्चन हुने भएको छ। मराठी साहित्यकार विजय तेन्दुलकरको चर्चित कृतिमा आधारित यस नाटकको नेपाली भावानुवाद विजय विस्फोट (जे.बी. देउजा) ले गरेका हुन् भने निर्देशन गुञ्जन दीक्षितले गरेका छन्।
नाटकले अदालतको एउटा इजलासलाई केन्द्रमा राख्दै न्याय, सामाजिक पूर्वाग्रह, लैङ्गिक विभेद, शक्ति सम्बन्ध र भीडको मानसिकताजस्ता विषयलाई उठाएको छ। नाटकको कथावस्तु अघि बढ्दै जाँदा खेल र यथार्थबिचको सीमारेखा क्रमशः धमिलिँदै जाने र अन्ततः दर्शकलाई समाज तथा न्याय प्रणालीबारे गम्भीर प्रश्न गर्न बाध्य बनाउने निर्माण टोलीले जनाएको छ।
मण्डला थिएटरका अनुसार नाटक असार १९ देखि साउन १० गतेसम्म प्रत्येक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे मञ्चन हुनेछ। शनिवार भने दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शनसमेत गरिनेछ।
१६ वर्षभन्दा माथिका दर्शकका लागि उपयुक्त मानिएको नाटकले न्यायको खोजीमा रहेका व्यक्ति, समाजले निर्माण गरेका मान्यता र महिलामाथि हुने सामाजिक व्यवहारलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्ने प्रयास गर्ने छ।
समसामयिक सामाजिक विषयवस्तुमा आधारित नाटकहरू मञ्चन गर्दै आएको मण्डला थिएटरले यस पटक पनि दर्शकलाई मनोरञ्जनसँगै गम्भीर बहस र आत्म मन्थनको अवसर दिने अपेक्षा गरेको छ।









