फिफा विश्वकप २०२६

विश्वकपमा शनिवार समूह ‘जी’, ‘एच’ र ‘आई’ को निर्णायक भिडन्त

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समय अनुसार शनिवार समूह ‘जी’, ‘एच’ र ‘आई’ का अन्तिम समूहगत खेलहरू हुँदै छन्। यी खेलले तीन वटै समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लगाउने भएकाले सबै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

शनिवार राति १२ः४५ बजे समूह ‘आई’ अन्तर्गत दुई खेल एकै समयमा हुनेछन्। यस समूहमा फ्रान्सले नर्वेसँग तथा सेनेगलले इराकसँग प्रतिस्पर्धा गर्नेछन्। फ्रान्स र नर्वे दुवैले दुई खेलबाट समान ६–६ अङ्क जोडिसकेका छन् र दुवै टोलीले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यद्यपि समूह विजेता बन्ने होडका कारण फ्रान्स र नर्वेबिचको खेल रोचक हुने अपेक्षा गरिएको छ। अर्कोतर्फ अङ्कविहीन सेनेगल र इराक भने प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

यसै गरी बिहान ५ः४५ बजे समूह ‘एच’ का खेलहरू हुनेछन्। समूहको शीर्ष स्थानमा रहेको स्पेनले उरुग्वेसँग खेल्दा केप भर्डेले साउदी अरेबियाको सामना गर्नेछ। स्पेनको ४ अङ्क रहेको छ भने उरुग्वे र केप भर्डेको समान २–२ अङ्क छ। साउदी अरेबियाको १ अङ्क मात्र भएकाले उसलाई नकआउट चरण पुग्न जितसँगै अर्को खेलको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ। यस समूहमा चारै टोलीसँग नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेकाले दुवै खेल निर्णायक हुनेछन्।

बिहान ८ः४५ बजे समूह ‘जी’ का खेलहरू हुनेछन्। शीर्ष स्थानमा रहेको इजिप्टले इरानसँग प्रतिस्पर्धा गर्नेछ भने बेल्जियमले न्युजिल्यान्डसँग खेल्नेछ। इजिप्टको ४ अङ्क, इरान र बेल्जियमको समान २–२ अङ्क तथा न्युजिल्यान्डको १ अङ्क रहेको छ। यस समूहमा पनि कुनै टोलीले नकआउट स्थान सुरक्षित गरिसकेको छैन। त्यसैले अन्तिम खेलको नतिजाले समूहको शीर्ष दुई टोलीको टुङ्गो लगाउनेछ।

शनिवार हुने यी ६ खेलसँगै समूह ‘जी’, ‘एच’ र ‘आई’ बाट अन्तिम १६ मा पुग्ने टोलीहरू निश्चित हुनेछन्। विशेष गरी समूह ‘जी’ र ‘एच’ मा सबै टोलीबिच अङ्कको अन्तर कम रहेकाले नकआउट प्रवेशको समीकरण निकै रोमाञ्चक बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =