रास्वपा महाधिवेशन: ६ पदाधिकारी छान्न रस्साकस्सी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएको छ ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भएको हो । अब दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अघि बढाइने भएको छ ।

पार्टीको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरू सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

संशोधित विधानअनुसार पार्टीमा १९ सदस्यीय पदाधिकारी संरचना रहने भए पनि सबै पदमा निर्वाचन नहुने भएको छ । तीमध्ये सभापतिसहित ७ पदमा मात्र निर्वाचन हुने व्यवस्था छ ।

सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ६ पदका लागि मात्र मतदान हुने छ ।

निर्वाचन हुने पदहरूमा एक उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह–महामन्त्री (खुला) र एक महिला सह–महामन्त्री रहेका छन् ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार दोस्रो चरणको मतदान आज अपराह्न ४ बजेदेखि सुरु गर्ने तयारी छ ।

उनका अनुसार मतदान प्रक्रिया छिटो सम्पन्न गर्ने लक्ष्यसहित एक मतदातालाई करिब चारदेखि पाँच मिनेट समय लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =