अमेरिका र इरानबीच शान्ति समझदारीः मध्यपूर्वमा स्थायी शान्तिको चुनौती कायमै

एजेन्सी । अमेरिका र इरानबीच करिब १०० दिनभन्दा लामो समयदेखि जारी द्वन्द्वपछि दुवै देशले शान्ति समझदारी पत्र मा हस्ताक्षर गरेका छन् ।

गत फेब्रुअरी २८ बाट शुरु भएको यो द्वन्द्वका कारण मध्यपूर्वमा पछिल्ला वर्षहरूकै सबैभन्दा गम्भीर संकट उत्पन्न भएको थियो ।

इजरायल, हेजबुल्लाह र अन्य क्षेत्रीय शक्तिहरू समेत संलग्न रहेको यस द्वन्द्वलाई कम गर्न दुई देशबीच समझदारी भए पनि क्षेत्रीय विश्लेषकहरूले भने मध्यपूर्वमा शान्तिको मार्ग अझै लामो र चुनौतीपूर्ण रहेको चेतावनी दिएका छन् ।

साउदी अरबस्थित अल रियाद सेन्टर फर पोलिटिकल एण्ड स्ट्राटेजिक स्टडिजका अनुसन्धानकर्ता अब्दुलअजीज अलशाबानीका अनुसार खाडी राष्ट्रहरूले यस सम्झौतामा मुख्य तीन विषयलाई प्राथमिकता दिने देखिन्छ ।

जसमा इरानको आणविक कार्यक्रमको भविष्य, हर्मोज जलडमरू लगायत प्रमुख समुन्द्री मार्गहरूको सुरक्षा र क्षेत्रीय तनाव कम गर्न यस सम्झौताको प्रभावकारिता रहेका छन् ।

विश्लेषक अलशाबानीकाअनुसार खाडी मुलुकहरूको मुख्य चासो क्षेत्रीय स्थिरतामा रहेको छ, जुन ऊर्जा सुरक्षा, विकास आयोजना र लगानी आकर्षणका लागि अनिवार्य मानिन्छ ।

त्यस्तै, इराकी राजनीतिक अनुसन्धानकर्ता नाधुम अली अब्दुल्लाहले अमेरिका र इरानबीचको यो युद्ध विराम जटिल र लामो वार्ताको परिणाम भएको बताएका छन् ।

उनकाअनुसार सैन्य तनाव दुवै पक्षको रणनीतिक हितका लागि जोखिमपूर्ण बन्दै गएपछि तनाव न्यूनीकरण गर्न दुवै पक्ष सहमत भएका हुन् ।

हर्मोज जलडमरू बन्द हुँदा विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा परेको गम्भीर असरले पनि दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको अब्दुल्लाहको विश्लेषण छ ।

बजार र सेयर मूल्यमा आएको गिरावटका कारण ऊर्जा सुरक्षा सुनिश्चित गर्नु यस समयको प्रमुख आवश्यकता बनेको उनले उल्लेख गरे । यस समझदारीले तत्कालका लागि सैन्य मुठभेड रोके पनि मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाका लागि अझै धेरै कूटनीतिक प्रयासहरू आवश्यक पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =