अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित

एजेन्सी । अमेरिका, इरान, कतार र पाकिस्तानबीच स्विट्जरल्याण्डको बर्गनस्टोकमा शुक्रबारका लागि तय गरिएको वार्ता स्थगित भएको छ ।
स्विट्जरल्याण्डको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ता स्थगित भएको पुष्टि गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्विट्जरल्याण्ड यी वार्ताहरूको सहजीकरणका लागि अझै पनि तयार छ र बर्गनस्टोकमा यससम्बन्धी आवश्यक पूर्व तयारीका कार्यहरू जारी छन् ।’
अमेरिका र इरानबीच भएको अन्तरिम शान्ति सम्झौता कार्यान्वयनका विषयमा प्रारम्भिक छलफलका लागि शुक्रवार यो बैठक तय गरिएको थियो ।
लेबनानी सञ्चारमाध्यम अल मायादिनले सूत्रहरूलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार लेबनानमा जारी इजरायली सैन्य आक्रमणका कारण इरानी वार्ता टोलीले आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्ध गरेको हो ।
यसैबीच ह्वाइट हाउसले पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित भएको जानकारी दिएको छ । वार्ताको योजनाले अन्तिम रूप नपाएका कारण उपराष्ट्रपति भान्सको भ्रमण रोकिएको ह्वाइट हाउसले जनाएको छ ।









