उत्तर कोरियासँगका सबै सञ्चार सम्पर्क विच्छेद भएको दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रवार दक्षिण कोरिया र उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया) बीचका सबै सञ्चार संयन्त्रहरू विच्छेद भएको बताएका छन् ।
जी–७ शिखर सम्मेलन तथा विभिन्न युरोपेली मुलुकहरूको भ्रमणका उपलब्धिका बारेमा राष्ट्रपति कार्यालयमा आयोजित एक ब्रिफिङमा बोल्दै राष्ट्रपति लीले दुई कोरियाबीचका आपत्कालीन हटलाइन र अन्य सञ्चार माध्यमहरू पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।
उनले सीमा क्षेत्रमा समय–समयमा साना खालका सैन्य झडपहरू भइरहेको उल्लेख गर्दै वर्तमान अवस्था उत्साहजनक नरहेको बताए ।
दक्षिण कोरियाली सरकारले उत्तर कोरियाप्रति मेलमिलाप र लचिलो नीति अवलम्बन गरे पनि दुई पक्षबीच अझै पनि शत्रुतापूर्ण भावना प्रबल रहेको उनको भनाइ थियो ।
राष्ट्रपति लीकाअनुसार हाल दुवै देशबीच आलोचना र टकरावपूर्ण वाकयुद्ध व्यापक बनेको छ र यस्तो परिस्थिति अझै केही समयसम्म कायम रहने देखिएको छ ।









