टर्कीद्वारा जुलाई १ देखि जलमार्ग पार गर्ने विदेशी जहाजको पारवहन शुल्कमा वृद्धि

एजेन्सी । टर्कीले राज्यको राजस्व वृद्धि गर्ने उद्देश्यले आगामी जुलाई १ देखि आफ्ना जलमार्गहरू (स्ट्रेट्स) प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको पारवहन शुल्क बढाउने निर्णय गरेको छ ।

टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरायोग्लुले शुक्रवार यससम्बन्धी जानकारी दिएका हुन् । नयाँ व्यवस्थाअनुसार टर्कीको कुनैपनि बन्दरगाहमा नरोकिईकन केवल जलमार्ग प्रयोग गरेर जाने जहाजहरूको पारवहन शुल्क प्रति नेट टन ५.८३ अमेरिकी डलरबाट बढाएर ६.७० डलर पुर्‍याइनेछ ।

मन्त्री उरायोग्लुकाअनुसार इस्तानबुलको बोस्फोरस र उत्तर–पश्चिमी प्रान्त चानककालेको डार्डनेल्स जलमार्गबाट हुने वार्षिक राजश्व आगामी जुलाई २०२५ देखि जुन २०२६ सम्मको अवधिमा २५ करोड ४० लाख डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

शुल्कमा गरिएको निरन्तर परिमार्जनका कारण जलमार्गबाट प्राप्त हुने राजश्वमा उल्लेख्य वृद्धि भएको मन्त्रीले उल्लेख गरे ।

तथ्याङ्कअनुसार सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्मको अवधिमा ३ करोड ८० लाख डलर रहेको राजश्व २०२४ जुलाईदेखि २०२५ जुनसम्मको अवधिमा वृद्धि भई २२ करोड ३० लाख डलर पुगेको छ ।

उल्लेखनीय छ कि सन् १९८३ देखि सन् २०२२ सम्म यो पारवहन शुल्क प्रति नेट टन ०.८० डलरमा स्थिर रहेको थियो । सरकारले सन् २०२२ मा पहिलो पटक यसमा परिमार्जन गरेपछि हाल यसलाई वार्षिक रूपमा समायोजन गर्ने नीति अवलम्बन गरेको छ ।

टर्कीका यी जलमार्गहरूले काला सागरका उत्पादक राष्ट्रहरूलाई विश्व बजारसँग जोड्नुका साथै अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको एक महत्त्वपूर्ण कडीका रूपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =