दक्षिणपूर्वी टर्कीमा प्राचीन सिरियाली शिलालेखका १३ खण्डहरू फेला

एजेन्सी । टर्कीको दक्षिणपूर्वी प्रान्त मार्दिनमा सडक निर्माणका क्रममा प्राचीन सिरियाली लिपियुक्त १३ वटा ढुङ्गाका खण्डहरू फेला परेका छन् ।

माथिल्लो मेसोपोटामिया क्षेत्रको बहुसांस्कृतिक सम्पदाका बारेमा नयाँ तथ्यहरू उजागर गर्ने यी अवशेषहरूले ऐतिहासिक महत्त्व राख्ने विज्ञहरूले बताएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार मार्दिनको मिद्यात जिल्लामा नगरपालिकाले जमिन सम्याउने क्रममा गत मंगलवार ती शिलालेखहरू फेला परेका हुन् ।

अवशेष फेला परेपछि मार्दिन संग्रहालय निर्देशनालय र सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रलाई संरक्षण र अभिलेखीकरणका लागि आफ्नो नियन्त्रणमा लिएको छ ।

सांस्कृतिक तथा प्राकृतिक सम्पदा अनुगमन मञ्चका प्रमुख तथा टर्कीका पुरातत्वविद् नेजिह बासगेलेनले बुधवार कुरा गर्दै यी शिलालेखहरू लिपि विज्ञानको दृष्टिकोणबाट निकै महत्वपूर्ण रहेको बताए ।

संग्रहालयका विज्ञहरूले प्रारम्भिक अध्ययनका आधारमा यी अवशेषहरू १२ औं देखि १४ औं शताब्दीका हुनसक्ने अनुमान गरे पनि बासगेलेनले लिपिको विशेषताका आधारमा यो अझ पुरानो हुनसक्ने उल्लेख गरेका छन् ।

उहाँकाअनुसार यी शिलाखण्डहरू कुनै ऐतिहासिक सिरियाली चर्चका संरचना हुन सक्छन् । ती अवशेषहरू स्थानीय लोककथा र इतिहासमा चर्चा गरिने मोर अडे चर्चसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

अरामिक भाषा परिवारको शास्त्रीय भाषाका रूपमा रहेको सिरियाली भाषाले ऐतिहासिक रूपमा यस क्षेत्रको साहित्यिक र प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

युनेस्कोले हाल यसलाई लोपोन्मुख भाषाको सूचीमा राखेको छ । माथिल्लो मेसोपोटामियामा अवस्थित मिद्यात क्षेत्र आफ्नो विशिष्ट ढुङ्गे वास्तुकला र सिरियाली सांस्कृतिक सम्पदाका लागि विश्वप्रसिद्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =