कुवेतद्वारा सिमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

एजेन्सी । क्षेत्रीय द्वन्द्वका कारण अवरुद्ध भएको हवाई यातायातलाई पुनस्र्थापित गर्ने प्रयासस्वरूप कुवेतले बुधवारदेखि सिमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू पुनः शुरु गरेको छ ।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी खाडी, अरब र अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पुनः सञ्चालनमा ल्याएका हुन् ।
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले एक संक्षिप्त विज्ञप्ति जारी गर्दै प्रारम्भिक चरणमा उडानहरू विमानस्थलको टर्मिनल ४ बाट सञ्चालन हुने जानकारी दिएको छ ।
अमेरिका, इजरायल र इरान सम्मिलित क्षेत्रीय द्वन्द्वका क्रममा विमानस्थललाई लक्षित गरी भएका आक्रमणहरूबाट सिर्जित अवरोधपछि कुवेतले हवाई सेवालाई क्रमिक रूपमा सामान्य बनाउँदै लगेको छ ।
विमानस्थलको पूर्ण सञ्चालनका लागि कुवेती अधिकारीहरूले आवश्यक कार्यहरू गरिरहेका छन् । यसैबीच, हप्तौँ लामो वार्तापछि अमेरिका, पाकिस्तान र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति समझदारी पत्रलाई अन्तिम रूप दिएका छन् ।
उक्त समझदारी पत्रमा आगामी शुक्रवार स्विट्जरल्याण्डमा औपचारिक रूपमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।









