विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सीमित हुन पुगेको छ: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्समा सीमित हुन पुगेको बताएका छन् ।

बुधवार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकका परिचर्चा कार्यक्रममा उनले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताएका हुन् ।

उनले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताए ।

नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक–नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उनको भनाई छ । सामाजिक सञ्जालका छोटा पोस्ट, ट्विट र सीमित शब्दका अभिव्यक्तिमा विचारहरू खुम्चिँदै गएको उनले बताए । समाजको मुक्ति र देशको विकास विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य नेपालमा निर्माण गर्न खोजिएको उनको आरोप छ ।

उनले भने ‘भारतको एकजना विख्यात दर्शनका ज्ञाता र लेखक हुनुहुन्छ, देवीप्रसाद चट्टोपाध्याय । उहाँले धेरै वर्ष अगाडि एउटा सन्दर्भमा भन्नुभएको थियो, आज भारतलाई जति बेला दर्शनको सबैभन्दा बढी खाँचो छ, दुर्भाग्यवश यति नै बेला दर्शनप्रतिको रुचि, दर्शनको मीमांसा, दर्शनप्रतिको एउटा आकर्षण या त्यस सम्बन्धी क्रियाकलापहरूको एकदमै ठुलो खडेरी देखिन लागेको छ, उहाँले भन्नुभएको थियो ।

त्यही कुरालाई साभार गर्दै नेपालको हकमा पनि आज दर्शन र समग्र वैचारिक प्रश्नहरूमा सैद्धान्तिक नीतिगत प्रश्नहरूमा बहस झन् झन् झन् साँगुरिँदै गएको छ । विचारहरू २४० क्यारेक्टरको टेक्स्टको पोस्टमा ट्विटमा या केही सय वर्डको फेसबुकका टेक्स्टहरूमा, पोस्टहरूमा साँगुरिँदै गइरहेको छ । यहाँ यस्तो वातावरण बनाइँदै छ कि समाजको मुक्ति या देशको विकास कुनै विचारले गर्ने होइन, कुनै संस्थाले गर्ने होइन, त्यसका लागि कुनै प्रणाली चाहिँदैन, बस कुनै एउटा अद्भुत व्यक्ति आउँछ, कुनै तारणहार आउँछ, तिमीहरूका दुःखको मुक्तिका लागि र उसले चुट्कीको भरमा समस्याको समाधान गर्छ भन्ने ढंगले संस्थाहरूलाई मार्दै र एउटा व्यक्ति अथवा केही व्यक्तिहरूको लोकप्रियतातिर मुलुकलाई धकेल्दै लगेको अहिलेको परिस्थिति छ ।’

उनले नेपालमा पपुलिजम, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हाबी भएको पनि दाबी गरे । राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक स्पेसमाथि संकट बढ्दै गएको उनले बताए । वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुँदै गएको उनको भनाई छ । ट्रेड युनियनका अधिकार खोसिएको, विद्यार्थी आन्दोलनले पञ्चायतकालमा प्राप्त गरेका अधिकारहरू कटौती गरिएको तथा विभिन्न माध्यमबाट नागरिकलाई त्रसित बनाउने प्रयास भइरहेको उनले आरोप लगाए ।

सुकुम्वासीहरूको समस्या झन् जटिल बन्दै गएको उनले बताए ।

उनले भने ‘मुलुक असामान्य अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । एकै साथ हाम्रो राष्ट्रियताको आन्दोलन, हामीले बडो दुख गरेर प्राप्त गरेका लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला स्पेस र त्यसको केन्द्रमा वामपन्थी आन्दोलन माथि एकदमै ठुलो संकट उत्पन्न भइरहेको छ । पपुलिजम, अनार्किजम र चरम दक्षिणपन्थको जगमा एउटा निर्वाचित अधिनायकवाद तिर सरकार गइरहेको छ, हेर्दा निर्वाचित हो, पपुलर भोटबाट आएको हो तर उसको यो सत्ताको समग्र व्यवहार एउटा अधिनायकवाद तिर छ, ट्रेड युनियन अधिकार खोसिएको छ, विद्यार्थीको २१ सालमा पञ्चायतसँग प्राप्त गरेका अधिकारहरू खोसिएको छ, अरू विभिन्न ढंगले तर्साइएको छ, सुकुम्वासीहरूको बिजोग हामीले देखिनै रहेका छौँ । यो स्थितिभित्र मुलुक एउटा असाधारण संकट तिर बढ्दै गएको हुनाले हामीलाई चाहिँ नयाँ ढंगले देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू र लोकतान्त्रिक शक्तिहरू नजिकिनुपर्ने आवश्यकता बोध भएको छ ।’

उनले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगले सहकार्य र निकटता आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =