श्रममन्त्री रामजी यादवले संसदबाटै भने– ‘अध्यादेशबाट ल्याइदिउँ’

काठमाडौं । युवा, श्रम तथा रोजगार रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तिब्रता दिएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७ गतेभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
ऐन संशोधनको आवश्यकता र तत्परताबारे प्रष्ट पार्दै मन्त्रीले ऐन ल्याउन आफूलाई धेरै हतारो रहेको भन्दै अध्यादेशबाट ल्याइदिने चेतावनी दिए । विद्यमान वैदेशिक रोजगार ऐनले विगत एक दशकदेखि क्षेत्रगत बेथिति निम्त्याएको स्वीकार गर्दै मन्त्रीले यसलाई लगाम बिनाको घोडाको संज्ञा दिए ।
उनले पुराना कमजोरीलाई सुधार नगरी अघि बढ्न नसकिने भन्दै नयाँ कानूनले ती समस्या सम्बोधन गर्ने दाबी गरे । ‘यो ऐन ल्याउन मलाई निकै हतारो छ । आवश्यक परे अध्यादेशमार्फत भएपनि ल्याउनुपर्ने स्थिति थियो तर अहिले हामीले यसलाई अन्तिम रूप दिएका छौँ । आगामी ७ गतेभित्र मस्यौदा कानून मन्त्रालय पठाउने तयारीमा छौँ र त्यसपछि सदनमा विस्तृत छलफल हुनेछ’ उनले भने ।
नेपाली श्रमिकहरू विश्वका १७८ भन्दा बढी मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै मन्त्रीले नयाँ ऐनलाई अन्तर्राष्ट्रिय स्तरमा व्यावहारिक बनाउन सबै सरोकारवालाहरूसँग गहन परामर्श गरिएको जानकारी दिए ।
प्रश्तावित कानूनमा वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्यका लागि प्रविधिको प्रयोग (डिजिटलाइजेसन) र वेब पोर्टल मार्फत रिक्रुटमेन्ट इकोसिस्टम सुधार गर्ने दूरगामी योजनाहरू समावेश गरिएको उलले बताए ।
नयाँ कानूनी व्यवस्था लागू भएसँगै फ्रि भिसा, फ्रि टिकेटको कार्यान्वयनमा देखिएका जटिलता र नीतिगत अन्योल पूर्णरूपमा अन्त्य हुने विश्वास समेत मन्त्री यादवले व्यक्त गरे ।









