शंकर र योगेशलाई रामकुमारीको खुला पत्र: ‘बालाई सहमत गराएर अघि बढ्नुस्’

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई पार्टीभित्रको संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा झाँक्रीले पार्टीका दुई पूर्व अखिल अध्यक्ष सम्बोधन गर्दै वर्तमान परिस्थितिमा देश, पार्टी सदस्य र मतदाताले उनीहरूलाई नियालिरहेको उल्लेख गरेकी छन् ।

उनले नेपाली समाजका चुनौती र त्यसको समाधानबारे पार्टीभित्र साझा दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । त्यसपछि जनतामाझ पुगेर पार्टीलाई अद्यावधिक गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत आवश्यक सुधारका विषयमा सहमत गराउनुपर्ने उनको सुझाव छ ।

‘सबैभन्दा पहिले आजको नेपाली समाज, यसका घटनाक्रम र भएका–गराइएका घटनाबारे पार्टीको दृष्टिकोण एउटै बनाऔं । त्यसपछि जनताको बीचमा जाऔं र पार्टीलाई अपडेट गरौं,’ उनले लेखेकी छन्, ‘त्यसपछि समाधानका लागि सोचिएका विषयमा बालाई सहमत गराउनुस् वा बाको विचारमा सहमत भएर अगाडि बढ्नुस् ।’

झाँक्रीले पार्टीभित्रका समस्या केवल अध्यक्ष ओलीमा सीमित नरहेको पनि उल्लेख गरेकी छन् । ‘आजको समाजमा कसैका लागि बा समस्या हुन सक्छन् । तर म भन्छु, बा मात्र समस्या होइनन् । समस्या भित्र र बाहिर दुवैतिर छन् । हामी कार्यकर्तामा पनि छन्,’ उनले लेखेकी छन् ।

उनले पार्टीका समस्या र चुनौतीको वस्तुपरक विश्लेषण आवश्यक रहेको बताउँदै पार्टीको दर्शन, सिद्धान्त, विचार र इतिहासको आलोकमा निष्कर्ष निकाल्नुपर्ने धारणा राखेकी छन् ।

झाँक्रीले महासचिव पोखरेल र उपमहासचिव भट्टराईलाई पुराना बोझ त्यागेर नयाँ ढंगले सोच्न आग्रह गर्दै अध्यक्ष ओलीलाई साथमै लिएर अगाडि बढ्न सुझाव दिएकी छन् ।

‘एकले अर्कोलाई दोष लगाएर होइन, सामूहिक कमजोरी हाम्रै हो भन्ने ठानेर अगाडि बढ्ने वातावरण बनाउन पहलकदमी लिनुस्,’ उनले लेखेकी छन् ।

यस्तो छ खुलापत्र !

प्रिय दाइहरू!
हरप्रकारका असामान्य परिस्थितिलाई सामना गर्दै जित्दै आउनु भएका तपाई दुई जना अखिलका पूर्व अध्यक्षहरू। यो बेला देशले तपाईहरूलाई हेरेको छ। करीब पाँच लाख पार्टी सदस्यहरू र करीब १४ लाख यस पटक भोट हालेका मतदाताहरूले तपाईहरूलाई नियाली रहेछन।
आजको नेपाली समाजका चुनौति के हुन भन्ने कुरा तपाईहरूलाई थाहा छ। र, यसको समाधान वा उपचार के हो? र कसरी गर्न सकिन्छ भन्ने पनि थाहा छ । त्यसैले सबै भन्दा पहिले आजको नेपाली समाज, यसका घटनाक्रम, भएका, गराईएका घटनाहरू बारे पार्टीको दृष्टिकोण एउटै बनाउ। यो शैद्दान्तिक कुरा हो। त्यसपछि एक पटक तलतल जनताको बिचमा जाउँ। पार्टीलाई अपडेट गरौं। अनि जसरी यि समस्याको हल गर्ने सोच्नु भएको छ, खोज्नु भएको छ त्यो विषयमा बालाई सहमत गराउनुस। वा बाको (आईडियामा) विचारमा सहमत भएर अगाडी बढ्ने सोच्नुस।
खोला वारी खोला पारि पिपलु र बर जस्तै हिडेर गन्तब्यमा पुग्न सकिएला र?
आजको यो समाजमा कसैको लागि बा समस्या हुन। तर म भन्छु बा मात्र समस्या होईन। समस्या धेरै छन भित्र र बाहिर दुबैतिर। अनि हामी कार्यकर्तामा पनि छन।
यसको बस्तुपरक विश्लेषण आवश्यक छ। बस्तु र घटमा बारे विश्लेषण गर्ने हाम्रो आफ्नो दृष्टिकोण छ। यस्तो विश्लेषण
पार्टीको दर्शन, सिद्दान्त, बिचार राजनिती र ईतिहाँस (जे भन्मुस) यसको आलोकमा गर्नुपर्छ। नमिलेका विषय बस्तु मिल्ने बिन्दु पहिल्साउने माध्यम नै दृष्टिकोण हो। पुराना ब्यागेज छाडेर नयाँ ढंगले सोच्नुस तपाईहरू। यसो गर्दा अध्यक्षको साथ छोड्ने होईन साथमा लिएर जानुस। जनसंगठनहरूका ईन्चार्ज र अध्यक्षहरूको भेलामा शंकर दाइको विश्लेषण मलाई गज्जव लागेको थियो। तपाईको विश्लेषण र अध्यक्षको विश्लेषणमा तात्विक भिन्नता छैन। अब एक पटक एकले अर्को लाई दोष लगाएर होईन सामुहिक कमजोरी भए हाम्रा भन्ने ठानेर अगाडी बढ्ने वातावरण बनाउन पहल कदमी तपाईहरूले लिनुहोस। समय बलवान छ। समय कसैको नियन्त्रणमा एकैनास रहदैन। हरेक कालरात्री पछि नै हो सुर्य उदाउने।
मैले यहाँ दाईहरू बा भनेर लेखेको छु तर भूलबस होईन, जानी जानी लेखेको छु। पछिल्ला दिनहरू जब म एमाले फर्के सबै भाईबहिनीहरू दाईदिदीहरूको एउटै कमेन्ट पाएँ त्यो हो यस्ता एमालेका यस्ता कयौ प्लेटफर्महरूमा दिदीलाई हामी खुब मिस गर्थौ। हो मैले पनि मिस गर्थे।
हामी सबैको आफ्नो आफ्नो ठाउॅमा महत्व छ।
संकटको सामुहिक सामना गर्ने हो। दाईहरू तपाईहरू दायाँ बायाँ नगर्नुस। यति भनेँ अधिकार बहिनी भएर पाएको हो। कमरेडको रूपमा सायद म यसो भन्न नसकुला।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =