दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्: राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न आफूहरू नयाँ राष्ट्रवादी पार्टी निर्माणको तयारीमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले यस्तो बताएका हुन् ।

उनले नयाँ पार्टीले राजासहितको प्रजातन्त्रलाई अघि बढाउने र नेपाललाई हिन्दु राष्ट्रका रूपमा स्थापित गर्ने संकल्प लिएको बताए ।

राणाका अनुसार नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्नेछन् । उनले प्रसाईंलाई राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा निमुखा जनताको नेता र ‘ब्रान्ड’ का रूपमा स्थापित भएको दाबी गरे ।

‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ । यो एजेण्डालाई अघि बढाउन सबै राष्ट्रवादी, राजावादीलाई एक ठाउँमा ल्याउने क्रममा हाम्रो दृष्टि दुर्गा प्रसाईंजीमाथि गयो,’ राणाले भने, ‘उहाँ राजा र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा निमुखा जनताको नेता बन्नुभएको छ । उहाँ ब्रान्ड हो । उहाँ हाम्रो ब्यानर हुनुहुन्छ, पार्टीको नेता हुनुहुन्छ । हामी पार्टी चलाउने हो ।’

उनले देशमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्यसहित आफूहरू अघि बढेको पनि बताए ।

‘भोलीको दिनमा जुन खाँचो छ, नेपालमा एउटा मजबुत राष्ट्रवादी शक्ति हामी निर्माण गर्न गइरहेका छौं । आजको उपस्थितिले र देशभरबाट आएको सन्देशले पनि दुई–तीन महिनाभित्रै यो शक्ति जनताको माझमा बलियो रूपमा जानेछ,’ उनले भने ।

राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डा इमान्दारिताका साथ अघि नबढाएकाले नयाँ पार्टी आवश्यक परेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =