लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौँ । लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।
कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो ।
प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताए ।
“त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो”, उनले भने ।
‘लोक सेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता’ लाई आयोगले मूल मन्त्र मानेको उनको भनाइ छ । आयोगले नेपालको संविधानअनुसार निजामतीका साथै सरकारी र सुरक्षा निकाय र सङ्गठित संस्थाहरूको पनि पदपूर्तिको जिम्मेवारी बहन गर्दै आइरहेको अध्यक्ष रेग्मीले बताए ।
“सबैभन्दा सम्मानित र सबैको विश्वास आर्जन गरेको संस्था भएको हुनाले यसलाई निजामती मात्रै होइन, अब सङ्गठित संस्था र सुरक्षा निकायको पनि जिम्मेवारी दिनुपर्छ भनेर नेपालको संविधानले सङ्गठित संस्था र सुरक्षा निकायको समेत चाहिँ जिम्मेवारी आयोगलाई दिएको छ,” उनले भने ।
प्रभातफेरीमा आयोगका सदस्य र कर्मचारीहरूको सहभागिता थियो ।








